• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

कांग्रेसले आफ्नो गला रेट्दैछ, आफ्नै अनुहारमा मोसो दल्दैछ

सनराइज खबर

सनराइज खबर

भ्रष्टाचारको मुद्दामा ‘ठूला माछा’ किन पर्दैनन् ? किन साना माछा मात्र पर्छन् ? सदाबहार रुपमा उठ्ने यी प्रश्नको जवाफ आएको छ । जवाफ दिएको छ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ।

बुधबार नेपाली जनताले धेरैवटा ‘ठूला माछा’को दर्शन पाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकसय ७५ जना विरुद्ध बालुवाटार जग्गा घोटालाको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गर्‍यो । ती मध्ये धेरै ‘ठूला माछा’ छन् । तर, ठूला माछा किन भ्रष्टाचारमा पक्राउ पर्दैनथे भन्ने पनि बुधबारबाटै खुलस्त भयो । 

अभियोग लागेकामध्ये सर्वाेच्च पदमा रहेका व्यक्ति विजयकुमार गच्छदार पनि छन् । उनलाई बचाउन तथा चोख्याउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नै लगभग निर्वस्त्र भएर सडकमा आएको छ ।

ठूला माछाहरु ठूलै राजनीतिक दलको काखमा मात्र नभएर सिरानमै पनि बसेका छन् । त्यसैले त्यस्ता ठूला माछालार्ई सितिमिति भ्रष्टाचार मुद्दा लाग्ने गरेको थिएन । अहिले अख्तियारले आँट गर्‍याे, गच्छदारलाई मुद्दा लाग्यो ।

गच्छदारको महिमा गाउँदै नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । बैठक अवरुद्ध गरेर तथा गच्छदारलाई काँधमा बोकेर कांग्रेसले आत्मघात गरेको छ । आफूलाई भीरबाट गुल्टाउन खोजेको छ । आफ्नो अनुहारमा कालो पोतेको छ । कांग्रेसको यस्तो कर्म स्पष्ट रुपमा भ्रष्टाचारको पक्षमा छ, भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासको विपक्षमा छ । 

आमचुनावमा परास्त भएर विजोग हालतमा पुगेको कांग्रेसबाट यतिविध्न आत्मघाती कदमको अपेक्षा गरिएको थिएन । 

पहिलो कुरा, बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा लुटिएकै हो । लुटिएको होइन भन्न कांग्रेसले पनि सक्ने अवस्था छैन ।

जग्गा लुटिएको हो भने कसले लुट्यो ? यसमा अख्तियार, प्रहरीको सिआईबी, शारदाप्रसाद त्रितालको समितिले छानविन गरेको हो । यी सबै छानविनबाट निष्कर्ष निकालेर अख्तियारले मुद्दा दायर गरेको हो । 

अर्काे गम्भीर तथ्य के हो भने गच्छदारलाई सरकारले मुद्दा लगाएको होइन, अख्तियारले हो । आफ्ना नेतालाई अख्तियारले मुद्दा लगाउँदा सरकारले पूर्वाग्रह राख्यो भन्न मिल्दैन । अख्तियार भनेको संवैधानिक निकाय हो । सरकार या संसद्को प्रत्यक्ष नियन्त्रणमा अख्तियार छैन र हुनुहुँदैन पनि ।

निकै लामो समयको र गहन छानविन पछि नै गच्छदार विरुद्ध मुद्दा लागेको जगजाहेर छ । जग्गा प्रकरणमा गच्छदारको संलग्नताको विवरण सञ्चार माध्यमहरुमा छरपस्ट भइसकेको थियो । गच्छदारलाई अभियोग नलगाई मुद्दा दायर गरिएको थियो भने चाहिँ उनलाई अख्तियारले जोगाउन खोजेको भनेर जनसाधारणले आवाज उठाउने थिए । 

गच्छदारलाई किन मुद्दा लगाइयो भनेर कांग्रेसले सोध्ने होइन, आपत्ति जनाउने होइन । लाग्नुपर्ने खालका अन्यलाई किन मुद्दा लागेन भनेर पनि कांग्रेसले प्रश्न उठाएको छ । यस्तो प्रश्नलाई अन्यथा ठान्न मिल्दैन तर गच्छदारलाई किन मुद्दा लगाइयो भन्ने प्रश्न राम्रो नियतले आएको होइन ।

गच्छदार लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि लागेका व्यक्ति भएकाले उनलाई मुद्दा लगाउनु पूर्वाग्रह हो भनेर कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रतिनिधि सभामा भनिन् । गच्छदारसँगै पूर्व मन्त्रीद्धय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि भ्रष्टाचार मुद्दा लागेको छ । उनीहरु पनि लोकतान्त्रिक आन्दोलनमा लागेका व्यक्ति हुन् भन्दै कांग्रेसले आपत्ति जनाएको छ । 

लोकतान्त्रिक आन्दोलनमा लागेका मानिस भ्रष्ट हुँदैन र ? लोकतान्त्रिक आन्दोलनमा लागेकालाई भ्रष्टाचारमा उन्मुक्ति दिने, नलागेकालाई चाहिँ कारवाही गर्ने भन्ने हुन्छ र ? लोकतान्त्रिक आन्दोलनमा लागेका नेताले जस्तोसुकै भ्रष्टाचार गरे पनि छुट दिनुपर्ने हो ? लोकतान्त्रिक आन्दोलनमा लागेकालाई भ्रष्टाचारको मुद्दा लाग्दा लोकतन्त्र खतरामा पर्ने कसरी ? यस्ता प्रश्नहरुको जवाफ दिने नैतिक सामथर््य कांग्रेससँग छैन ।

गच्छदार सहित एक सय ७५ जनालाई मुद्दा लागिसकेको छ । अब उनीहरुलाई आन्दोलन गरेर या सदन अवरुद्ध गरेर जोगाउन या चोख्याउन सकिँदैन । उनीहरुका बारे न्यायालयले मात्र निर्णय गर्न सक्छ । न्यायालयलाई प्रभावित गर्ने गरी कांग्रेसले बोल्न, चिच्याउन या प्रदर्शन गर्न हुँदैन । गच्छदारलाई लागेको मुद्दा पूर्वाग्रह–दुराग्रह हो कि सत्य हो भन्ने निर्णय कांग्रेसले गर्ने होइन, न्यायालयले गर्ने हो । पछि न्यायालयले कस्तो फैसला गर्छ, त्यसलाई सबैले शिरोपर गर्नुपर्छ ।

थाहा भएकै कुरा हो, विजय गच्छदार गत ३० वर्षको अधिकांश समय सरकारमा बसेका थिए । उनका पार्टनर भनेर कहलिएका खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जिवी वाग्ले, जेपी गुप्ता लगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा लाग्यो । तर, गच्छदारलाई लागेन । तथापि, जनस्तरमा भने गच्छदार कहिल्यै चोखो मानिएनन्, ठानिएनन् । उनी निष्कलंक छन् भने न्यायालयमा भएको मुद्दाबाट चोखिने मौका पाउनेछन् । बरु, गच्छदार स्वयंले र कांग्रेसले पनि फैसलाको प्रतिक्षा गर्नु बुद्धिमानी हुन्छ । 

बालुवाटार जग्गा घोटालाामा मुद्दा दायर हुँदा कांग्रेसले स्वागत गर्नुपर्नेमा विरोध गर्‍यो । आफैं बसेको रुखको हाँगा काट्ने कालीदास पाराको हर्कत गर्‍यो । 

कांग्रेसको अधोगति सबैका लागि चिन्ताको विषय हो । कांग्रेस पार्टी बनाउन नेपाली जनताले सात दशक खर्च गरेका छन्, हजारौं नेपालीले रगत पसिना बगाएका छन् । यस्तो पार्टीलाई भ्रष्टाचारको पक्षमा उभ्याउन दिइनु हुँदैन ।

कांग्रेसलाई भ्रष्टाचारको पोखरीमा चुर्लुम्म डुबाएर मार्ने कि बचाउने ? आम नेपालीले चिन्ता र चिन्तन गर्नुपर्ने भएको छ । मुख्य कुरा, आफू लागेको पार्टीको गला रेट्ने काम नेताहरुलाई गर्न नदिन कांग्रेसकै कार्यकर्ताहरु जाग्नुपर्ने भएको छ । 

कांग्रेसका केही नेता भ्रष्ट भएपनि कांग्रेस भ्रष्टाचार पक्षधर पार्टी होइन भनेर स्थापित गर्नु नै अहिलेको आवश्यकता हो । कांग्रेस पार्टीलाई भ्रष्टहरुको मतियार र हतियार बनाउनेहरु, बालुवाटार जग्गा घोटालामा मुद्दा चलाइएकोमा विरोध गर्नेहरु कुनै अर्थमा पनि लोकतन्त्रवादी हुन सक्दैनन् । 

अतः कांग्रेसले आत्मघात नगरोस्, आफ्नो गला नरेटोस्, आफ्नो अनुहारमा मोसो नदलोस् ।
 


 

प्रतिकृया दिनुहोस