एसीसी यु-१९ एसिया कप : नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
दुबईको शारजाह क्रिकेट मैदानमा मंगलबार भएकाे आफ्नाे तेस्राे खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हाे ।
अफगानिस्तानले दिएकाे १ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर पुरा गर्याे । नेपालका लागि नरेन साउदले २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन बनाए ।
बलिङतर्फ अफगानिस्तानका एएम गजानफर र खातिर स्टानिकजाईले समान ३-2 तथा अब्दुल अजिज र महबूब खानले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ राेजेकाे अफगानिस्तानले ३५ ओभर ४ बलमा अलआउट हुँदै १ सय २३ रन बनाएकाे थियाे । उसका लागि फैसल खानले ५२, खातीर खानले १५, अल्लाह गजान्फरले ११ र नासिर खानले १० रन बनाए ।
बलिङतर्फ नेपालका युनिशविक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३-३ तथा हेमन्त धामी र अभिषेक तिवारीले समान २-२ विकेट लिए ।
यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
अफगानिस्तान यसअघि पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस