• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

एनपीएल : त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा २ प्रहरीसहित ७ घाइते

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । कीर्तिपुरस्थित  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर ७ जना घाइते भएका छन् । 

शनिबार दिउँसाे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर २ जना प्रहरीसहित ७ जना घाइते भएका प्रहरी परिसर काठमाडाैंले जनाएकाे छ ।

घाइते हुनेमा धादिङ घर भई केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका संघीय संसद् सुरक्षा बेस बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र जुम्ला घर भई सोही बेसमा काम गर्ने प्रहरी दानबहादुर राउत छन् ।

रुपन्देही घर भई बानेश्वर बस्ने २५ वर्षीय जयन श्रेष्ठ, गुल्मी घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेगी र रुकुमको मुसीकोट घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय प्रेम खड्गी पनि घाइते भएका परिसरले जनाएकाे छ ।

घाइतेमध्ये प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।  बाँसवारीस्थित न्यूरो अस्पतालमा उहाँकाे उपचार भइरहेको छ । अन्य घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएकाे छ ।

घाइतेहरुलाई प्रहरीले तत्काल उद्धार गरेकाे थियाे ।

टिकट व्यवस्थापन राम्राे नभएकाे भन्दै एनपीएलका आयाेजकप्रति दर्शकहरु आक्राेशित भएका छन् । टिकट काटेका दर्शकलाई व्यवस्थित रूपमा प्रवेश गराउन नसक्दा मैदान बाहिर भीडभाड हुनुका साथै नाराबाजी, ढुंगामुढा र लाठी चार्ज समेत भएपछि दर्शकहरु रुष्ट बनेका हुन् । उद्घाटन खेलमा थामिनसक्नु भीड थियाे ।

प्रतिकृया दिनुहोस