• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । बहुचर्चित नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

काठमाडाैंकाे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक एनपीएल सुरु हुन लाग्दा क्रिकेट प्रेमीहरु निक्कै उत्साहित छन् । 

प्रतियाेगिताकाे उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै छन् । खेल दिउँसाे सवा १२ बजे सुरु हुनेछ । आज शनिबार पनि परेकाले उद्घाटन खेलमा भव्य सहभागिता हुने अनुमान पनि गर्न सकिन्छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख मार्की रहेकाे जनकपुरकाे कप्तानमा राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्त्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । टाेलीमा शेख र साहसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरमा विदेशी खेलाडीमा न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलंकाली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इंग्याण्ड्का अलराउण्डर बेन माइक अनुबन्ध छन् ।

जनकपुर टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके छन् ।

सन्दीप लामिछाने मार्की एवं कप्तान रहेकाे विराटनगर किंग्समा उनीसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्याण्डका मार्टिन गुप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।

टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु हुने प्रतियाेगितामा ८ टाेली सहभागी छन् । प्रतियाेगितामा जनकपुर र विराटनगरसहित काठमाडाैं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स,  कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् । प्रतियाेगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

एनपीएलका सबै खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रसारण हुने स्टार स्पोर्ट्स च्यानलमा हुनेछ । 

उद्घाटन खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीतर्फ ७ सय टिकट मूल्य ताेकिएको क्यानले जनाएको छ । लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीतर्फ ५ सय मूल्य तय गरिएको छ ।

एनपीएलको प्लेअफका खेल हेर्न सामान्यतर्फ ५ सय र भिआइपीतर्फ ७ सय टिकट मूल्य ताेकिएकाे छ । फाइनल खेलका लागि भने सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।

सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ ४ हजार ४ सय ८० र भिआइपीतर्फ ८ हजार ४ सय ४० मूल्य निर्धारण गरिएको छ ।

साे प्रतियाेगिताकाे ट्रफी गत प्रधानमन्त्री केपी शर्मा ओली र ८ मार्की खेलाडीले मंसिर १० गते धरहरा परिरसरबाट सार्वजनिक गरेका थिए । ट्रफी पनि विशेष छ । एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको छ । क्यानका सचिव पारस खड्काका अनुसार विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश दिन साे ढुंगा राखिएकाे हाे ।

प्रतिकृया दिनुहोस