कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे भारतका शिखर धवन
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् ।
धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, प्रशिक्षक ज्ञानेन्द्र मल्ल लगायतले स्वागत गरेका थिए ।
३८ वर्षीय धवनले भारतसँगै इण्डियन प्रिमियर लिग (आईपीएल) को दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनी एनपिएल खेल्ने सबैभन्दा चर्चित खेलाडी हुन् ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णालीले धवनसँगै वेस्ट इण्डिजबाट टेष्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । बी श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । सी श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । कर्णालीले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।
कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई फेस अफ कर्णाली याक्सु नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटल हिल्टन छ ।


प्रतिकृया दिनुहोस