• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

रामेछापमा अण्डर–१५ प्रथम अखिल कप खुल्ला पुरुष फुटबलको तयारी पुरा, १६ टिमले भाग लिँदै 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । अनेरास्ववियु रामेछापले आयोजना गर्न लागेको अण्डर–१५ प्रथम अखिल कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । 

अनेरास्ववियु रामेछापले बुधबार पत्रकार सम्मेलन आयोजना गरी खेलको तयारी पुरा भएको जनाएको छ । मंसिर १४ देखि १६ गतेसम्म मन्थलीमा हुने प्रतियोगितामा रामेछाप र सिन्धुली जिल्लाका १६ वटा फुटबल टिमले भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

प्रतियोगिता विजेताले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिनुभयो । खेलको उपविजेताले नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

सेमिफाइनलमा प्रवेश गर्ने तर फाइनल प्रवेश नगर्ने दुई टिमले नगद  ५/५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । खेल अवधिभर उत्कृष्ट चार विधा–उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई नगद १ हजार सहित ट्रफी प्राप्त गर्ने छन् । सो खेलका सबै सहभागी खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरिने भट्टराईले बताउनुभयो । खेल अवधिभर प्रत्येक गोलकर्तालाई प्रोत्साहन स्वरूप प्रत्येक गोलको १ सय रुपैँया प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगिता नेपाल फुटबल संघ (एन्फा) को नियम अनुसार खेलाइने छ । खेलमा करिब २ सय खेलाडीले सहभागिता जनाउने भट्टराईले जानकारी दिनुभयो । 

अनेरास्ववियु जिल्ला कमिटी रामेछापले विगत लामो समयदेखि विद्यार्थीहरूमा भएका अन्तर्निहित क्षमता, कला, प्रतिभा र भावनाहरू समेट्दै विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आएको उहाँले जानकारी दिनुभयो । प्रथम अखिल महोत्सव, हाजिरी जवाफ, सिप मूलक तालिम प्रदान कार्यक्रम, वक्तृत्वकला, खेलकुद, सरसफाइ, विद्यार्थी जागरण अभियान, शैक्षिक विकृति विसङ्गतिका विरुद्ध सडक आन्दोलन, प्रशासक र जनप्रतिनिधिहरूका असल कामको प्रचारप्रसार साथै खराब कामको खबरदारी लगायतका काम गर्दै आएको उहाँले बताउनुभयो । 

कार्यक्रममा बोल्दै अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवं प्रकाशन विभाग प्रमुख, वाग्मती प्रदेश सहइञ्चार्ज सागरहरि अधिकारीले ग्रामीण भेग र शैक्षिक संस्थाहरूमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा यो प्रतियोगिताले टेवा पुग्ने बताउनुभयो । अनेरास्ववियुले देशै भरी यस्ता रचनात्मक काम गरिरहेको उदाहरण अधिकारीले दिनुभयो । 

नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले अनेरास्ववियुले राजनीति मात्र नगरेर रचनात्मक काम गरेर विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि सहयोग गर्छ भन्ने उदाहरण पेस गरेको बताउनुभयो । अनेरास्ववियुले राजनीतिक परिवर्तनसँगै सामाजिक परिवर्तनको क्षेत्रमा पनि काम गर्दै आएको भन्दै उहाँले प्रशंसा गर्नुभयो । 

अण्डर–१५ प्रथम अखिल कप खुल्ला पुरुष फुटबल रामेछापको तयारी पुरा, १६ टिमले भाग लिँदै पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय सदस्य आङलामु शेर्पा, एमाले मन्थली नगरपालिका कमिटी उपाध्यक्ष खुसहरि बुढाथोकी लगायत अनेरास्ववियुका नेता कार्यकर्ता, रेफ्रि, खेल प्रशिक्षक तथा खेलाडीको सहभागिता रहेको थियो । 

 

प्रतिकृया दिनुहोस