• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएलको ट्रफी सार्वजनिक, महिला एनपीएल आयोजना गर्न क्यानलाई प्रधानमन्त्री ओलीको सुझाव

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टाेलीका मार्की खेलाडीहरुले साेमबार बिहान काठमाडाैंकाे सुनधारास्थित धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

ट्रफीको टुप्पोमा सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुंगा राखिएकाे छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार ट्रफीमा प्रयोग गरिएको ढुंगा पर्वतारोही निमा शेर्पा र मिङमा शेर्पाले कालापत्थर क्षेत्रबाट काठमाडौं ल्याउनुभएको हो । सार्वजनिक गरिएकाे एनपीएलकाे ट्रफी ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको सचिव खड्काले बताउनुभयाे । जलवायु परिवर्तनकाे असर बढिरहेका बेला यसले विश्वभर हिमाल संरक्षणका लागि सन्देश दिने उहाँले बताउनुभयाे । ट्रफीलाई सिम्बोलका रूपमा सगरमाथाको उचाइसरह  ८८४८.८६ मिटर उचाइ दिइएको छ । 

ट्रफी अनावरण कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताउनुभयाे । उहाँले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो ।  प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा आफू सरकामा रहँदा वा नरहँदा पनि ध्यान दिने प्रतिबद्धता जनाउनुभयाे । नेपाली क्रिकेटका हरेक खेलाडी अब्बल रहेका भन्दै उहाँले एनपीएलका मार्की खेलाडीकाे पालैपालाे खुलेर प्रशंसा गर्नुभयाे । प्रधानमन्त्री ओलीले आफ्ना लागि दीपेन्द्रसिंह ए‍ेरी उत्कृष्ट रहेकाे बताउनुभयाे ।

उहाँले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताउनुभयो । प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले महिला नेपाल प्रिमियर लिग क्रिकेटको आयोजना गर्न पनि क्यानलाई सुझाव दिनुभयाे । 'क्यानका पदाधिकारीहरुले आगामी दिनमा महिला विशेष एनपिएल लिग आयोजना गर्ने विश्वास छ'- उहाँले भन्नुभयाे ।

एनपीएल यही मंसिर १५ गतेदेखि काठमाडाैंकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयाेजना हुँदैछ । पुस ६ गतेसम्म सञ्चालन हुने एनपीएलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिष्पर्धा गर्नेछन् । उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने छन् ।

प्रतिकृया दिनुहोस