दृष्टिविहीन टी-२० विश्वकप : नेपालकाे पहिलाे जित, अफगानिस्तान १०८ रनले पराजित
काठमाडाैं । पाकिस्तानमा जारी दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललले पहिलाे जित हात पारेकाे छ ।
साेमबार लाहाेरमा भएकाे खेलमा आफ्नाे तेस्राे खेलमा अफगानिस्तानलाई १ सय ८ रनले हराउँदै नेपालले प्रतियाेगितामा पहिलाे जित हात पारेकाे हाे ।
नेपालले दिएकाे २ सय २९ रनको लक्ष्य पछ्याएकाे अफगानिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २० रन मात्र बनाउन सक्यो ।अफगानिस्तानका लागि अबाशीनले ५२, द्वारनले २१ र शराफतले १३ रन बनाए ।
बलिङतर्फ नेपालका सुनिल राना मगरले ३ तथा भरत थापा, अमिश गुरागाईं र सुनिल सुवेदी क्षेत्रीले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २ सय २८ रन जाेडेकाे थियाे । नेपालका लागि उपकप्तान पदमबहादुर बडैलाले ९२ र नरेश चौधरीले नटआउट ७२, भरत थापाले २१ र सागर लामाले ४ रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।
नेपालले मंगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्नेछ ।
यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।


प्रतिकृया दिनुहोस