मंसिर १२ बाट उमाकुण्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने
काठमाडौं । उमाकुण्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पर्यटकीय नगरी बाम्तीमा हुने भएको छ ।
उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । खेलकुदको माध्यमबाट आपसी सद्भाव र सहिष्णुता बढाउन तथा विद्यार्थीमा खेल प्रतिभा विकासको लागि प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने लक्ष आयोजकले राखेको छ ।
खेल मंसिर १२, १३ र १४ गते उमाकुण्ड–२ बाम्ती भण्डार स्थित श्री सिद्वेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ । पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा उपाध्यक्ष सावित्री सुनुवार, सातवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, पालिका स्तरीय राजनीतिक दलका नेताहरू, गाउँपालिकामा रहेका सातैवटा मावि प्रधानाध्यापक, खेलकुद विकास समितिको पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा खेल प्रेमीको उपस्थिति रहने छ । खेलको उद्घाटन स्थानीय सांस्कृतिक पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम सहित हुने आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस