राखेपकाे मिसन २०२६ विशेष प्रशिक्षण आजदेखि
काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरु गरेको मिसन २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि पुनः सुरु हुने भएको छ ।
चालु आर्थिक वर्षकाे विशेष प्रशिक्षणमा पारा तेक्वान्दो र तेक्वान्दोसहित ११ खेल समावेश गरिए पनि हाललाई ९ खेलको शनिबारदेखि विशेष प्रशिक्षण हुने राखेपले जनाएको छ । हाल पारा तेक्वान्दो र तेक्वान्दो खेलाडीको नाम उपलब्ध नभएको र उपलब्ध भएपछि समावेश गरिने जनाइएको छ ।
विशेष प्रशिक्षणमा ३७ पुरुष र ४८ महिला सहभागी हुने राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले बताउनुभएकाे छ । प्रशिक्षक संख्या १९ छ ।
करातेमा ५–५ पुरुष-महिला, बक्सिङमा ३ पुरुष र ५ महिला, उसुमा ५ पुरुष र ३ महिला, एथलेटिक्समा ४–४ पुरुष-महिला तथा जुडो र कुस्तीमा ३–३ पुरुष-महिला खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् । कबड्डीमा १२–१२ पुरुष-महिला तथा महिला भलिबलमा १२ खेलाडी हुनेछन् । गल्फमा २ पुरुष र १ महिला खेलाडी सहभागी हुनेछन् ।
गत आवमा ५ खेलको ६ महिना, थप ५ खेलको ३ महिना विशेष प्रशिक्षण चलाइएको थियो । कुनै पनि एसियाली खेलकुद सम्पन्न भएलगत्तै आगामी संस्करणका लागि तयारी थालिएको यो पहिलो पटक हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले वैज्ञानिक, लामो र व्यवस्थित तयारीलाई मध्यनजर गर्दै मिसन २०२६ को अवधारणाअनुरुप विशेष प्रशिक्षण थालिएको बताउनुभएकाे छ ।
एसियाली खेलकुदको कुनै पनि संस्करणमा नेपालले दोहोरो अंकमा पदक जितेको छैन । एसियाली खेलकुदमा नेपाल स्वर्णविहीन छ । सन् १९८६ मा दक्षिण कोरियको सोलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा ४–४ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले सोल एसियाड नै नेपालले सर्वाधिक पदक जितेको एसियाली खेलकुदमा हो ।


प्रतिकृया दिनुहोस