• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

युएईलाई हराउँदै नेपाल यु-१९ महिला टी-२० विश्वकपमा छनोट

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटमा छनाेट भएकाे छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा बुधबार सम्पन्न आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट एसिया छनोटकाे अन्तिम खेलमा घरेलु टाेलीलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनाेट भएकाे हाे ।

नेपालले युएईलाई नेट रन रेटका आधारमा पछि पारेको हो । 

छनाेटकाे अन्तिम खेलमा युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । नेपालका लागि सना प्रविनले ३५, कप्तान पुजा महतोले २१, सोनी पाख्रिनले नटआउट १३ र सावित्री धामीले १२ बनाए ।

बलिङतर्फ युएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।

त्यसअघि अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर पहिला ब्याटिङ राेजेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र बनाएकाे थियाे । युएईका लागि समइरा धर्नीधर्काले ३१ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कृष्मा गुरुङले ४ तथा रिया शर्मा र सीमा केसीले समान २-२ विकेट लिए । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएकाे थियाे भने तेस्राे खेलमा घरेलु टाेली युएईसँग १३ रनले पराजित भएकाे थियाे । चाैथाे खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको थियो भने पाँचाैं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएकाे थियाे ।

प्रतियोगितामा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी थिए । सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुने प्रावधान अनुसार नेपाल छनाेट हुन सफल भएको हो । यु-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ । नेपालले विश्वकपमा समूह 'डी' मा प्रतिष्पर्धा गर्नेछ । साे समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । 

प्रतिकृया दिनुहोस