खाँडादेवीमा अन्तरवडास्तरीय पुरुष भलिबल, वाग्मती प्रदेश सभा सदस्यद्वारा उद्घाटन
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–७ खाँडादेवीमा तेस्रो वडाध्यक्ष अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।
रामेछापको खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकाका ११ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले गर्नुभयो । वडाध्यक्ष सिरेलाल तामाङको अध्यक्षतामा भएको कार्यक्रमका बोल्दै श्रेष्ठले स्वास्थ्यको लागि र राष्ट्रको लागि खेललाई व्यवस्थित गर्दै लैजानु पर्ने बताउनुभयो । केही समय यता नेपाली खोलाडीको खेल कौशलता पनि बढ्दै गएको श्रेष्ठले सुनाउनुभयो ।
.jpg)
कार्यक्रमका बोल्दै खाँडादेवी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य प्रेम तामाङले खेल र खेलाडीबाट नेपाली राजनीतिले धरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो ।
खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङले भौतिक पूर्वाधार निर्माण मात्र विकास नभएको बताउनुभयो । समग्र देशको विकासका लागि सबै क्षेत्रको विकास आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा खाँडादेवी गाउँपालिका–२ का वडाध्यक्ष केशव प्रधान लगायतले खेल सफलताको शुभकामना दिनुभएको थियो ।
वडा कार्यालयको प्रायोजन तथा खाँडादेवी गाउँपालिका–७ नं वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले २० तथा सान्त्वना हुनेले १० हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । खेलमा उत्कृष्ट विधागत खेलाडीलाई सम्मान गरिने छ ।
.jpg)
उद्घाटन कार्यक्रममा खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू, स्थानीय, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस