क्यानडाले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि
काठमाडाैं । नेपाल सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि घरेलु टाेली क्यानडाले जितेका छ ।
क्यानडाको किंगसिटीमा बिहीबार राति भएकाे अन्तिम खेलमा ओमानलाई ५ विकेटले क्यानडाले सिरिज जितेको हो । सिरिजमा शीर्षस्थानमा रहँदै क्यानडाले उपाधि हात पारेकाे हाे ।
ओमानले दिएको ८३ रनको सामान्य लक्ष्य क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्याे । क्यानडाका लागि कप्तान निकलोस कृतनले २०, हर्ष ठाकरले १८, दिलप्रित बजवाले १४ र नभनित धलिवालले ११ रन बनाए ।
बलिङतर्फ ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान २-२ तथा जिसन मक्सुदले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८२ रन बनाएको थियो । ओमानको लागि कप्तान अकिब इलियासले ३५ र शाकिल अहमदले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ क्यानडाका अखिल कुमार र प्रभिन कुमारले समान ३-३, हर्ष ठाकरले २ तथा सादविन जफरले १ विकेट लिए ।
क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो । क्यानडाले ओमानलाई पहिलो खेलमा ८ विकेटले हराएकाे थियाे ।
सिरिजमा नेपाल दाेस्राे स्थानमा रह्यो । नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन र दोस्रो खेलमा ५६ रनले हराएको थियो । तर क्यानडासँगकाे दुवै खेल हारेकाे थियाे ।


प्रतिकृया दिनुहोस