• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अब म केही वर्ष सकारात्मक पत्रकारिता गर्छु– ऋषि धमला

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

म एउटा साधारण किसान परिवारमा जन्मिएको मानिस हूँ । आजभन्दा ४३ वर्षअघि जन्मिएको हूँ । तपाईंहरुको माया, स्नेह र प्रेमले यहाँसम्म आइपुगेको छु । 

नेपाली पत्रकारितामा रेडियो पत्रकारिता नै मेरो सबैभन्दा प्रिय क्षेत्र हो । जसले रेडियो सुन्छ, त्यही व्यक्ति सफल पत्रकार हुन्छ । अहिले सोसियल मिडिया छ, प्रिन्ट मिडिया छ, अनेक थरिका मिडिया छन् । तर हाम्रो हजुरबुवाको पुस्ताले रेडियो सुनेरै र रेडियोबाट बोलेरै नेपालमा पत्रकारिता गरेको थियो । जसले लेख्न सक्छ, जसले आफ्नो कुरा राख्न सक्छ, त्यो मान्छे नै सफल हुन्छ । 

सनराइज खबरले कृषि स्तम्भ थालेको छ । यो उदघाटन कार्यक्रममा बोल्न पाउँदा मलाई गर्व लागेको छ । म त खेति गरेर आएको मान्छे । म दिउँसो स्कूल जान्थें, बिहान–बेलुका खेतमा जान्थें । म गाउँमा ५–६ कक्षा सम्म पढ्दा कि त खेतमा हुन्थें, कि त स्कूलमा हुन्थें । 

सबै काम घरमा मैले नै गर्नुपथ्र्याे । म सात वर्षको हुँदा आमाको निधन भयो । अनि मेरो बुवाले भन्नुहुन्थ्यो– ‘तँ दिनभर स्कूल जा, अनि बिहान बेलुका खेत जा ।’ अनि म पनि भ्याएसम्म गाइवस्तु लिएर चराउन जान्थें । जुन दिन भ्याउँदिन थिएँ, त्यसदिन– ‘बुवा, मैले आज भ्याइन, आज खेतमा पानी लगाउन जान्छु’ भन्थें । 

पानी लगाउन कस्तो समस्था थियो भने, हामी रातभर पानी चोर्न बस्नुपथ्र्याे । धान खेतिलाई पानी नभई नहुने, म राति दुई बजेसम्म पानी चोर्न लुकेर बस्थें । म त्यस्तो दुःख पाएको मान्छे हूँ । खेति गरेको मान्छे हूँ । पछि पत्रकारिता गरें । र, तपाईंहरुले माया गरेकाले अहिले यहाँसम्म आइपुगेको छु । 

अहिलेको पुस्ताले आफूलाई कृषिमा आश्वस्त र विश्वस्त पारेन भने हाम्रो देशमा विकास हुँदैन । 

म सनराइज खबरलाई आग्रह गर्न चाहन्छु, तपाईंहरुले गाउँमा गएर काम गर्नु पर्दैन, खेतमा गएर काम गर्नुपर्दैन, कृषि स्तम्भ मार्फत् किसानको प्रतिनिधित्व गरिदिनुस्, किसानको विचार त्यहाँ सम्प्रेषण होस्, दृष्टिकोण आओस् । 

म रेडियोमा पनि छु, टेलिभिजनमा पनि छु । धेरै मिडियामा छु । र अब, कृषिका लागि सनराइज खबरसँग सहकार्य गर्नेछु । कृषिको उन्नति र प्रगतिलाई सबै नेपालीको साझा एजेण्डा बनाउने छु । 

हामीले कृषि प्रधान देश नेपालको बखान मात्र गरेका छौं, अब व्यवहारमा देखाउने हो । हामीले खाली भाषणमात्र गरेका छौं । हाम्रो पुस्ता खेतमा काम गर्नै चाहँदैन । जस्तो अघि रामशरण बजगाईंजीले भन्नु भयो– मेरो बुवा खेतमा काम गर्ने मान्छे खोज्दै हुनुहुन्थ्यो, म चाहिँ काठमाडौंमा काम खोज्दै थिएँ । हाम्रो देशको अहिलेको अवस्था यही हो ।

अब राजनीतिक मुद्दा सकियो, अब हाम्रो मुद्दा भनेको देश विकास र समृद्धि नै हो । त्यसैले अब किसान भएर काम गर्ने हो । यो देश बनाउने किसानले हो । जो किसानको एजेण्डा बोकेर गाउँगाउँ पुग्छ, त्यहि व्यक्ति सफल हुन्छ । 

म प्राइम टाइम्स टेलिभिजनको अध्यक्ष छु, अब हरेक हप्ता म कृषि सम्बन्धी कार्यक्रम सञ्चालन गर्छु । प्रत्येक हप्ता एउटा बहस कृषि उपर गर्नेछु । 

हाम्रो पत्रकारितामा प्रगति भएको छ । समाचार सम्प्रेषण गर्न पाएका छौं । नेपालको पत्रकारिता छताछुल्ल छ, पत्रकारिताले व्यक्ति सम्पन्न भयो होला, संस्था सम्पन्न भयो होला तर देशको मूल एजेण्डामा चाहिँ हाम्रो पत्रकारिता नै रुमल्लिएको छ । हाम्रो पत्रकारिता व्यक्तिगत एजेण्डामा बढि सक्रिय भएको हो कि ? अथवा राष्ट्रिय एजेण्डामा हामी चुकेको हो कि ? यो प्रश्न उठेको छ । 

पत्रकारिताको लागि १०–५ को समयले हुँदैन । नयाँ पुस्ताले के सोंच्नुप¥यो भने पत्रकारिता भनेको चौबीसै घण्टा आफूलाई समर्पित गराउनुपर्ने पेसा हो । जसले आफूलाई चौविसै घण्टा पत्रकारितामा आश्वस्त, विश्वस्त र क्रियाशील बनाएको हुन्छ, उ पनि कता कता रुमल्लिएको महशुस गर्छ । उसको गन्तव्य के हो भन्ने थाहा हुँदैन । 

पत्रकारिता नेपालमा अब संकटमा पर्ने हो कि भन्ने शंका पनि छ– अनलाइनले गर्दा ।

रेडियो टेलिभिजन र पत्रिकामा अब राम्रो लेख्ने मान्छे नै नपाइने भइसक्यो अनलाइनले गर्दा । अनलाइनको आधार सोसियल मिडिया हो । सोसियल मिडिया अनिवार्य आवश्यकता हो, मान्छे सोसियल मिडिया बिना बाँच्न नसक्ने भइसक्यो । तर, सोसियल मिडियाको पहुँच र प्रभावबारे हामीले बहस गर्नुपर्ने अवस्था आएको छ ।

व्यवसायिक पत्रकारिता हाम्रो देशमा बामे सर्दै छ । व्यवसायिक पत्रकारिताले पूर्णता प्राप्त गर्न सकेकै छैन । व्यवसायिक पत्रकरिता गर्ने मान्छे नै छैन । यहाँ त कुनै वादको, कुनै विचारको, कुनै राजनीतिक दलको, कुनै नेताको, कुनै व्यक्तिको इन्ट्रेस्टमा पत्रकारिता चलेको देखिन्छ । तर पत्रकारिता भनेको कसैको निर्देशनमा चल्दैन । अबको पत्रकारितालाई कसैले कुण्ठित पार्छु, कमजोर बनाउँछु भन्छ भने पनि सक्दैन । त्यसैले व्यवसायिक पत्रकारिताको विकल्प छैन । 

हामी कहाँ छौं, त्यो समिक्षाको विषय हो, तर नेपालमा जसले व्यवसायिक पत्रकारिता गर्न सक्छ, त्यो सफल हुन्छ । त्यसैले व्यवसायिक पत्रकारितालाई सशक्त बनाउनका लागि अहिलेका पुस्ता सशक्त हुनु पर्छ । अहिलेका पुस्ताको मन वचन र कर्म व्यावसायिक पत्रकारिता हुनुपर्छ । 

हाम्रो देशका नेताहरुले पत्रकारितालाई हेर्ने दृष्टिकोण प्रयोगवादी भयो जस्तो लाग्छ । उहाँहरुलाई पर्दा खेरी पत्रकारलाई खोज्ने र पत्रकारले खोज्दा उहाँहरु कहिल्यै उपस्थित नहुने । तर हो चाँहि के भने– पत्रकार र नेता भनेको नङ र मासु जस्तो हो । जतिसुकै एकअर्कालाई आलोचना गरे पनि नमिली सुखै छैन ।

नेता बिनाको पत्रकारिता र पत्रकार बिनाको नेता भनेको नुन नहालेको तरकारी जस्तै हो । मलाई हरेक दिन बहस गर्न नेता चाहिएको छ । म जति सुकै रिसाए पनि कराए पनि मलाई त नेता चाहिएको छ बहस गर्न । विज्ञ चाहिएको छ बोल्नलाई । 

त्यसैले नेता र पत्रकारिताको सम्बन्धबारे एउटा निष्कर्श निकाल्नै पर्छ हामीले । 

गाली गरेर मात्र पत्रकारिता हुँदैन है । पछिल्लो समय मलाई के भन्न थालेका छन् मान्छेहरुले भने, तपाईं किन प्रचण्डको प्रशंसा गर्नुहुन्छ ? किन प्रधानमन्त्रीको प्रशंसा मात्र गर्नुहुन्छ ? 

मैले के भन्ने गरेको छु भने अब गालि गरेर मात्र पत्रकारिता चल्दैन । सकारात्मक सोच राखौं । अब एक पटक हामीले सकारात्मक पत्रकारिता गरौं । सरकारात्मक र रचनात्मक पत्रकारिताको नमूना सनराइज खबरले देखाइरहेको छ । अब  पाँच वर्ष सकारात्मक पत्रकारिता मात्र गरौंं । आलोचना मात्र गरेर नेपाली पत्रकारितालाई हामीले खेर नफालौं । अक्षरहरु खेर नफालौं । मेरो आग्रह छ, आजबाट मैले उद्घोष गरेको छु । केहि वर्ष सकारात्मक पत्रकारिता गर्छु ।  

नेताहरुका कमजोरीलाई औल्याउने, लेख्ने तर सभ्य शिष्ट भएर बौद्धिकताका साथ । व्यवसायिक पत्रकारिताको धर्म पालना गरेर । सबैले यसै गरौं । सकारात्मक पत्रकारिताको एजेण्डा बोक्न ऋषि धमला तयार छ । 

(सनराइज खबरको कृषि स्तम्भ उद्घाटन समारोहमा पत्रकार ऋषि धमलाले दिएको मन्तव्य ।) 


 

प्रतिकृया दिनुहोस