• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

टिकटक प्रतिवन्ध हट्दै

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । के अब टिकटक एपमाथिको प्रतिवन्ध हट्छ ? अहिले यो प्रश्न व्यापक रुपमा उठिरहेको छ । 

चर्चित एप टिकटक बन्द गर्ने निर्णयबाट नेपाल सरकार पछाडि हट्ने अवस्था आएको छ । यही कारण टिकटक प्रतिवन्ध हट्ने विषयमा फेरि एकपटक बहस चलेको हो । 

विकृति विसंगति फैलाएको र नग्नता मौलाएको भन्दै सरकारले टिकटक बन्द गरेको थियो । कात्तिक २७ गते नेपाली जनता तिहारमा व्यस्त भएको मौका छोपेर तत्कालीन गठवन्धन सरकारले बन्द गरेको टिकटक अहिलेसम्म खुलेको छैन । सरकारले टिकटक बिगार्नुका पछाडि धेरैवटा कारण दिएको थियो । त्यसमा मुख्य कारण सामाजिक सदभाव बिगार्न खोजेको भन्ने पनि थियो । 

निर्धक्क टिकटक चलाउन पाइने दिन अब धेरै टाढा छैन

सरकारले जे कारण देखाएर टिकटक बन्द गरेको थियो, ती कारणहरुमा टिकटक मात्र जिम्मेवार थिएन । टिकटकमा जस्तै सामग्री विभिन्न प्लेटफर्महरुमा आइरहेकै थिए । टिकटक प्रतिवन्धित गरिएपछि फेसबुक, युटुब, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा सामाजिक सद्भाव बिगार्न खोज्ने तथा अश्लीलता भएका सामग्री आइरहेकै छन् । टिकटकलाई प्रतिवन्धित गर्दैमा सदभाव बिगार्ने खालका र अश्लील सामग्री प्रसारण हुन रोकिएको छैन । अर्थात्, टिकटकलाई मात्र प्रतिवन्धित गर्नुको औचित्य स्थापित हुन सकेन । यही कारण टिकटकमाथि प्रतिवन्ध हटाउन सरकारमाथि दवाब बढ्दै गएको छ । दवाब कति बढिरहेको छ भने प्रतिनिधि सभामा समेत यो कुरा उठेको छ । 

जे कारण देखाएर टिकटक बन्द गरियो त्यो वास्तविकता थिएन । वास्तविकता के थियो भने टिकटक बन्द गरिनुका पछाडि तत्कालीन सरकारको लम्पसारवादी नीति जिम्मेवार थियो । 

टिकटकलाई अमेरिकाले निरन्तर प्रहार गर्दै आइरहेको थियो भने भारतले पूर्ण रुपमा प्रतिवन्धित गरेको थियो । किनभने टिकटक चिनियाँ कम्पनीको एप थियो । चीन तथा चिनियाँ कम्पनीहरुलाई प्रहार गर्ने अमेरिका र भारतको नीतिको छायाँमा परेर नेपालमा टिकटक प्रतिवन्ध गरिएको जगजाहेर भइसकेको छ । 

अहिले भारतमा गठवन्धन सरकार छ । नरेन्द्र मोदी प्रधानमन्त्री रहे पनि भाजपासँग विगतको जस्तो एकल बहुमत छैन । अब भारतले छिमेकी देशहरुमाथि विगतमा जति अत्याचार गर्न सजिलो छैन । त्यसैले टिकटक प्रतिवन्धबाट पछाडि हट्न प्रचण्ड सरकारले आँट बटुलिरहेको छ । विशेष गरी सत्तासीन नेकपा एमालेका नेताहरु टिकटक प्रतिवन्धबाट पछाडि हट्ने पक्षमा रहेको बुझिन्छ । टिकटकका विषयमा प्रतिनिधि सभा पनि तातिन थालेको छ । त्यसैले अब टिकटकमाथिको प्रतिवन्ध नहटाई सुखै छैन । 

अश्लीलता र सामाजिक सदभावका नाममा टिकटक माथि प्रतिवन्ध लगाउने हो भने अन्य इन्टरनेट प्लेटफर्मलाई चाहिँ किन बन्द नगर्ने ? यो प्रश्न अहिले जनजनले उठाइरहेका छन्, घरघरमा प्रश्न उठिरहेको छ । जनदवाब चर्काे भइरहेका कारण प्रचण्ड सरकारले चाँडै टिकटकमाथिको प्रतिवन्ध हटाउने सम्भावना देखा परेको हो । 

उच्च स्रोत अनुसार टिकटक कम्पनी अहिले सरकारसँग अनौपचारिक संवाद्मा छ । टिकटकले नेपालमा औपचारिक रुपमा दर्ता भएर कारोबार गर्ने भनिसकेको छ । यो अवस्थामा टिकटकमाथिको प्रतिवन्ध हटाउँदा सरकारलाई ठूलो परिमाणमा राजश्व प्राप्त हुने देखिएको छ । 

टिकटक प्रतिवन्धित गरिए पनि भीपीएन प्रयोग गरेर लाखौं नेपालीले टिकटक चलाइरहेका छन् । सरकारले लगाएको प्रतिवन्धले खासै काम गरेको छैन । यो कारण पनि टिकटकमाथिको प्रतिवन्ध अर्थहीन भइरहेको छ । सरकारसँग टिकटक खोल्नुपर्ने दवाब बढिरहेको छ ।

राजनीतिक कारण तथा चीनसँग दुश्मनी गरेर विभिन्न देशले टिकटक प्रतिवन्धित गरेका छन् । तिनै देशको लहलहैमा लागेर नेपालले टिकटक प्रतिवन्धित गर्नुको तुक रहेन । त्यसैले टिकटक प्रतिवन्ध हटाउन सरकारभित्र गम्भीर छलफल तथा गृहकार्य सुरु भएको हो ।

प्रतिकृया दिनुहोस