• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपालमा पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो 'सेस्मिक सर्भे'

रासस

रासस

दैलेख । पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’ को काम भइरहेको छ । दैलेखमा पेट्रोलियम पदार्थ छ भन्‍ने पक्का भइसकेपछि यसबारे विस्तृत थाहा पाउन ‘सेस्मिक सर्भे’ को केही काम सकिएपनि बाँकी काम भइरहेको छ। 

दैलेखका विभिन्‍न भूभागहरुमा जमीनको ४५ फिटमुनिसम्म ड्रिलिङ गर्ने कार्य सकिएसँगै प्रत्येक होलमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु भइरहेको छ ।

अहिले १० वटा सेस्मिक लाइनमा दुई सय किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको खानी तथा भुगर्भ विभागले जनाएको छ । तीनवटा लाइनको  सेस्मिक सर्भेको काम भने सकिएको छ ।  

एउटा लाइनमा चार सय वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए । 

माघ मसान्तसम्म सर्भेको काम सम्पन्न गरी जमीनभित्र पठाइएको तरङ्ग मापनको पुनः अध्ययन गरिने जनाइएको छ । पुनः अध्ययनपछि मुख्य भण्डारणको अन्वेषण कार्य शुरु हुने परियोजनाले जानकारी दिएको छ । 

कसरी हुन्छ सेस्मिक सर्भे

जमीनको मुनी कृत्रिम भुकम्प सिर्जना गरी सतहमुनी पठाएर यसको काम सुरु गरिन्छ । 

जमीनको सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड गरि तरङ्गको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने गरिन्छ ।  अन्वेषणका लागि दैलेखको चुप्रामा क्याम्प निर्माण गरेर काम थालिएको हो । 

अहिले दैलेखको दुल्लू नगरपालिकामा पनि थप क्याम्प निर्माण गरेर विज्ञको समूहले अध्ययन गरिरहेको छ । 

दैलेखका विभिन्न स्थानमा वर्षौदेखि ग्यासका रुपमा बलिरहेको आगो र खोलाको पानीमा बगेको तरल पदार्थका आधारमा पेट्रोलियम पदार्थको सेस्मिक सर्भे सुरु गरिएको हो । 

चिनियाँ प्राविधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको जानकारी दिएको त्रिपाठीले बताए । जमीनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अन्वेषण तथा अनुसन्धानबाट पनि देखिएको उनले बताए । 
 

प्रतिकृया दिनुहोस