• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

तरकारी खेतीले महिलामा आर्थिक सबलता

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

 

सिञ्जा । हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुुन् । तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका उहाँलाई मौसम वा बेमौसम कुनै बेला फुर्सद हुँदैन । 

दशकअघि सम्म श्रीमान्को कमाइमा निर्भर रहने उनी अहिले आफूले कमाएर श्रीमानलाई खर्च दिन्छिन् । “पहिले चुलो–चौकोमै सीमित थियौँ, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौँ, परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौँ”, उनले भनिन् ।

बिहान उठ्नेबित्तिकै नजिकैको जुगाड बजारमा ताजा तरकारी बेच्न जाने र बेलुका भोलिपल्ट बजार लाने तरकारी तयार गर्नु उनको दैनिकी हो । हिउँदका ६ महीना बर्खामा सुकाएर राखेको जङ्गली साग प्रयोग गथ्र्यौँ”, उनले भनिन् । “अहिले बाह्रै महीना हरियो तरकारी खान्छौँ ।” 
 
सोही गाउँपालिकाकी मुगा शाही हरियो तरकारी बेचेर बालबालिकाको किताब, कापी र लुगाफाटो किन्ने गरेको सुनाउछिन् । उनको अनुसार बेमौसमी तरकारी खेतीले महिलामा समृद्धि ल्याएको छ । 

घरायसी खर्चको लागि पुरुषसँग हात फैलाउनुपरेको छैन । बरु उल्टै खर्च दिने गरेको छ । बेमौसमी तरकारी खेतीले वित्तीय क्षेत्रमा महिलालाई सशक्त बनाउँदै लगेको उनको बुझाइ छ ।

तातोपानी गाउँपालिकाका महिला सामाजिक कुसंस्कार विरुद्धको अभियानमा लागेकी छिन् । समाजमा व्याप्त छाउपडी, बालविवाह, बहुविवाह, जार जस्ता कुप्रथाको सिकार महिला हुने गरेको भन्दै विभेदरहित समाज निर्माण अभियानमा लागेको उनिहरु बताउछन् ।

तातोपानी गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्यायले भने, “समाजमा महिला–पुरुषबीच हुने विभेदको अन्त्य गर्दै अन्धविश्वास र कुसंस्कार सधैँका लागि पन्छाउन चाहन्छौँ । यो अभियानमा निरन्तर डटिराखेका छौँ । यहाँको अन्धविश्वासी समाज बदल्न अभियान नै चलाएका छौँ ।”

उपाध्यायका अनुसार २०७५ भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी संहिताका विषयमा गाउँका महिलालाई प्रशिक्षित गर्ने काम अहिले चलिरहेको छ । 

पातारासी गाउँपालिका–७ की पम्फा बुढा आलु बेचेर वार्षिक रु डेढ लाख कमाउने गरेको छ ।

उनको बारीमा ७० क्विन्टल आलु फल्छ । डेजिरे जातको आलुखेती गरेकी बुढालाई अहिले परिवारको खर्च चलाउन निकै सहज छ । “तीन रोपनी जग्गामा आलुखेती गरेको छु, सदरमुकाम लगेर बेच्छु”, उनले भनिन, “किलोको रु २० देखि २५ सम्ममा बेच्ने गरेको छु ।”

आलु उत्पादन र बिक्रीमै उहाँको अधिकांश समय बित्छ । दुई छोरा र दुई छोरीकी आमा पम्फा छोराछोरीलाई निजी स्कूलमा पढाउन सक्ने हिम्मत बढेको सुनाउछिन् । 

यहाँका किसानले बारीमा उत्पादित आलुबाट घरमै चिप्स बनाएर पनि बेच्छन् । यही गाउँको आलुले खलङ्गा बजारको माग धानेको छ । “अहिले गाउँमा आलुले समृद्धि ल्याउँदैछ”, स्थानीय भदुरी बुढाले भनिन्, आलुखेतीबाट नुन, तेल खर्च व्यवस्थापनमा रहेको कठिनाइ हटेको छ । छोराछोरी सुर्खेत, नेपालगञ्ज र काठमाडौँका निजी स्कूलमा पढ्छन् ।” पुरुषप्रधान समाजमा महिला अग्रसर भएसँगै परिवर्तनको आभाष हुन थालेको छ ।

यहाँका महिला कृषि उत्पादनमा मात्र सीमित छैनन् । सामाजिक कुरीतिविरुद्ध पनि अग्रसर छन् । तिला–४ रावतवाडाकी पुनम पाण्डे छुइ भएको बेला पनि खाना पकाउने महिला हुन् । तीन दिनसम्म घरभित्र पस्न पनि मिल्दैन भन्ने परम्परागत मान्यतालाई चुनौती दिँदै उनले छुइ भएको बेला खाना पकाएर परिवारलाई ख्वाउनुभयो । 

उनले पकाएको खाना परिवारले खाए । तैपनि देउता रिसाएनन् । उनले भनिन्, “वनको बाघले खाओस् या नखाओस् मनको बाघलाई ठूलो मानेर विभेदको पहाडले थिचिएर बसेछौँ ।”
 रावतवाडाकै मेनका योगी छुइ भएको बेला गोठ छाडेर घरमा आउने पहिलो महिला हुन् । छुइ भएको बेला एक्कासी घरमा पस्दा गाउँले, छरछिमेक चकित भए । छुइ भएको बेला घरमा बस्दा देउता लागेर वंश नास हुने र जीवनभर कुभलो हुने भन्दै छिमेकीले कुरा काटिरहे ।

उनले भनिन्, “हाम्रो समाज पुरुषप्रधान भएकाले महिलाले राम्रो काम गरेको पटक्कै राम्रो मानिँदैन ।” अहिले उहाँ छुइ हुँदा खाना पकाउनेदेखि घरका सबै क्रियाकलापमा सहभागी हुँदै आएको बताउनुहुन्छ । अहिले जिल्लाभर छाउपडीमुक्त अभियान महिला अग्रसरतामा अघि बढिरहेका छन् ।

चन्दननाथ–१४ की पार्वती खनाल स्याउखेतीमा लागेको धेरै भइसक्यो । उनको आधाजसो समय स्याउबारीमै बित्छ । स्याउ गोडमेल र स्याहारसम्भार उनको दैनिकी हो । पछिल्लो समय स्याउ किन्न गाउँमै व्यापारी पुग्न थालेपछि खेतीमा आकर्षण बढेको उनी बताउछिन् ।

यसैगरी, कुडारी–३ की कालिका शाही स्याउखेतीले जीविकोपार्जनमा सहयोग पुग्नुका साथै राम्रो आम्दानी दिइरहेको बताउछिन् । अहिले स्याउको काँटछाँट र व्यवस्थापन महिला आफैँ गर्छन् । यसमा पुरुषको भूमिका छैन । “कुनै समय महिला पुरुषको दासजस्तै थिए”, उनले भनिन् “अहिले जतासुकैबाट महिलाको जीवनस्तर बदलिसकेको छ ।”

जुम्लामा तीन हजार ४५० हेक्टर जमीनमा स्याउखेती हुुने गरेकामा ९०० हेक्टरको स्याउले फल दिन्छ । स्याउ संरक्षणमा अधिकांश महिला नै सहभागी छन् । 

कर्णाली राजमार्ग नियमित सञ्चालन भएयता यहाँका महिला सबै क्रियाकलापमा सक्रिय हुन थालेका हुन् । अहिले जिल्लाका सबै बस्तीमा सडक पुगिसकेको छ । नपुगेकोमा पु¥याउन स्थानीय सरकार लागिपरेको छ । महिला सशक्तीकरणदेखि अधिकारको लडाइँमा प्रत्यक्ष सहभागी भएर बहस गर्न सक्ने भएका छन् महिलाहरु । 

उद्यमी बन्न थाले महिला 
    
हाते बुनाई तालीम लिएका महिलाहरु उद्यमी बन्न थालेका छन् । कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट ऊनको हाते बुनाई तालीम लिएर उनीहरु उद्यमी बन्न थालेका हुन् । 

तालीममा सहभागी २० महिला अस्पताल रोड नजिकै टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने काममा व्यस्त देखिन्छन् । 

बिहान १० देखि साँझ ४ बजेसम्म उनीहरु टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने गर्छिन । जनजाति समुदायका १० र अन्य समुदायका १० गरी २० महिलाले सो काममा व्यस्त रहने गर्छन् । 

चैत ५ गतेदेखि शुरु भएका तालीम जेठ १० गते सकिने छ । तालीममा सहभागी सबै महिलाले व्यावसायिक बन्ने योजना बनाएका छन् । उद्यमी बन्नका लागि सोच र चिन्ता भएका ती महिलालाई निमा पुटिङ लामा र सरस्वती भारतीले सहजीकरण गरी रहेका छन् । 

तालीम अवधिमा महिलाले बुनेका मोजा, टोपी, गलबन्दी र स्वीटरले घरका भित्ता रङ्गिएका छन् । तयारी सामान निर्माणका लागि कर्णाली प्राविधिक शिक्षालय जुम्लाले सुइ र धागो उपलब्ध गराएको छ ।

महिलालाई आत्मनिर्भर बनाउन सीप सिकाइएको शिक्षालयले जनाएको छ । महिला र पुरुषले लगाउन मिल्ने स्वीटर, मोजा, गलबन्दी र टोपी जुम्लाको उत्पादन हो भनेर चिनाउने कर्णाली प्राविधिक शिक्षालयको लक्ष्य छ ।

ऊनको हाते बुनाई तालीमले आत्मनिर्भर हुनुका साथै आम्दानी लिन सक्ने सीप पाएको तालीममा सहभागी पेमा याङजोम लामाले बताईन ।    

तालीमले महिलालाई व्यावसायिक बनाउने उनको भनाइ छ । 
महिलाका लागि तालीम उपलब्धिमूलक भएको बताउँदै अझ भविष्यमा व्यावसायिक उद्यमी बन्ने सोच रहेको लामाले सुनाईन् । रासस
 

प्रतिकृया दिनुहोस