सुनकोशी-मरिण डाइभर्सनको सुरूङ ब्रेक थ्रु, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीकाे विश्वास
काठमाडाैं । सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक-थ्रु भएकाे छ ।
बुधबार मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे उपस्थितिमा सिन्धुलीको सुनकोशी गाउँपालिका कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दूरी खनेपछि सुरुङ ब्रेक-थ्रु (छिचोलिएको) गरिएकाे हो ।
१३ दशमलव ३ किलोमिटर लामो सुरुङको ९९ दशमलव ९९ प्रतिशत काम सम्पन्न भएपछि आज ब्रेक थ्रु गरिएकाे हाे । ०७७ फागुन २० गते कमलामाई नगरपालिका-२ को कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साे आयाेजनाकाे शिलान्यास गर्नुभएकाे थियाे ।
ब्रेक-थ्रु समाराेहलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको बताउनुभयाे । याे आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने उहाँले बताउनुभयाे । यस्ता आयाेजना सम्पन्न हुँदा राष्ट्रिय अर्थतन्त्र, देशकाे उत्पादकत्व वृद्धि र समृद्धिकाे लक्ष्यमा महत्वपूर्ण याेगदान पुग्ने समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
सुरुङ ब्रेक-थ्रुले नयाँ उत्साह र उर्जा थपेकाे उहाँले बताउनुभयाे । कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा करिब एकतिहाइ योगदान रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउनुभयाे ।
नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेस तथा भित्री मधेशभित्र नै पर्ने भन्दै उहाँले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले याे आयाेजना निर्धारित समय अगावै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयाे ।


प्रतिकृया दिनुहोस