• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मेलम्चीकाे सुरुङ ‘फिनिसिङ’ अन्तिम चरणमा

रासस

रासस



मेलम्ची खानेपानी आयोजनाकाे सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ ।

अहिले करिब ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम सुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियन निर्माण कम्पनी सीएमसीले काम अलपत्र छाडेर जाँदा सुरुङमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो ।

बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । नियमितरूपमा काम गरे आगामी दुई महिनामा सुरुङको काम सकिने उनको भनाइ छ । उनेले भने- 'यही गतिमा काम भए दुई महिनाभन्दा बढी समय नलाग्ने देखिएको छ ।'

आयोजना निर्माणका क्रममा यस अघि धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताए । अहिले आयोजनाको समस्याका रूपमा सीएमसीले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएको छैन । अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भए पनि सहायक ठेकेदार र आर्पूितकर्ताको भुक्तानी टुङ्गो लाग्न बाँकी छ ।

सरकारले चाँडाे काम सके कम्पनीलाई प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सम्झौतामा उल्लेख छ । वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सकिने बताइएको छ । मेलम्ची काठमाडौंमा झरेपछि पानी वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिकृया दिनुहोस