देउवाले सरकार छाड्न नमान्दाको तीन महिना उपर ओलीको वर्णन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वभाव अनुसार नै आक्रामक सम्वोधन गरेका छन् । आफ्नो सरकारले एक वर्ष पूरा गरेको उपलक्ष्यमा ओलीले गरेको सार्वजनिक सम्वोधन आक्रामक त थियो नै, रोचक समेत थियो ।
उनले आफ्नो अभिव्यक्तिको परम्परागत शैली अनुसारकै रोचक सम्वोधन गरे । करिब पाँच हजार शब्दको लिखित सम्वोधनमा ओलीले अनेक उपमा र अलंकार प्रयोग गरेका छन् ।
सरकारले केही गर्न सकेन भन्ने प्रचारवाजीलाई चिर्न ओलीले शशक्त प्रयास गरेका छन् ।
सम्वोधनको सुरुमै उनले आफ्नो सरकार गठन हुँदा र त्यस अघिको परिवेशबारे बताए । उनले भने– ‘स्मरण गरौं, गत वर्ष आजको दिन ।’ त्यसपछि अगाडि बोले– ‘चुनाव सकिएको तीन महिना वितेको थियो । जनमतले ‘तिम्रो मिति पुग्यो’ भनेकाहरु अझै सरकारमै थिए ।’
यसो भनेर उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरेका थिए तर देउवाको नाम चाहिँ लिएनन् । चुनाव सकिएपछि पनि देउवाले तीन महिनासम्म सरकार छाड्न मानेका थिएनन् । त्यो कुराको स्मरण गर्दै उनले अगाडि भने– ‘झण्डै दुईतिहाई जनमत सहित शासनको वागडोर सम्हाल्न तयार रहेको मेरो नेतृत्वको गठबन्धनलाई बैध सत्ता हस्तान्तरण गर्न त्यो पक्ष आनाकानी गरिरहेको थियो । तीन महिनादेखि कानुनका नौवटै सिङले हाम्रो लोकतन्त्रलाई चिथोर्न सक्रिय भइरहेको थियो ।’
के बहानामा सत्तामा टाँसिरहन सकिन्छ भनिरहेका थिए ।
प्रधानमन्त्री ओलीले भने– ‘यही स्थितिलाई सङ्केत गर्दै मैले भनेको थिएँ, ‘अनर्थ हैन– यो नयाँ जनमत हो । यो त आयो । आयो है भन्ने बुभ्mनुस् र त्यही अनुरुपको बानी बसाल्नुस् । यसलाई स्वीकार्ने अभ्याश गर्नुस् भनेको थिएँ ।’
‘एकचोटी सोचौं त’– ओलीले भने– ‘कस्तो अवस्थामा हामीले सत्ताको जिम्मा लियौं र अहिले कहाँ छौं ? जटिल निर्वाचन प्रणाली हुँदाहुँदै पनि, अढाई दशक पछि बल्ल एउटै पार्टीको बलियो सरकार निर्माण भएको छ । राजनीतिक संक्रमणकालको गोलचक्कर अन्त्य भएर स्थिरता कायम भएको छ ।’
ओलीको प्रश्न थियो– यस्तो परिस्थिति सिर्जना हुँदा खिन्न हुनुभन्दा उत्साहित हुनुपर्ने हैन र ?


प्रतिकृया दिनुहोस