• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

‘पानी जहाज’ले ओली रमाए, हसाए : गज्जब काम गरे

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । मुलुकका लागि विलक्षण उपलब्धी त हो नै, केपी शर्मा ओलीका लागि पनि अपूर्व उपलब्धी हो पानी जहाज कार्यालय । बिहिबार ललितपुरमा पानी जहाज कार्यालय उद्घाटन गर्दा ओली प्रशन्न देखिन्थे । त्यसो त उनी जहाँ पनि जाँगरिलो भाषण गर्छन् तर पानी जहाज भाषणमा ओलीको उमंग हेर्न लायक देखिन्थ्यो । उनी निक्कै हौसिएका देखिन्थे । 

प्रधानमन्त्री ओली कति हौसिएका थिए भन्ने उनको एउटा वाक्यबाट पनि झल्कन्छ । बोल्ने क्रममा उनले गण्डकमा पानी जहाज चलाउने सम्वन्धमा भारतले डिपीआर तयार पारेको सो कार्यक्रम स्थलमा आएपछि थाहा पाएको बताए । 

प्रधानमन्त्रीका रुपमा ओलीको साख मुख्य दुई कुरासँग जोडिएको थियो– पानी जहाज र रेल । पानी जहाज खोई भन्दै संसद वैठकमै ओलीमाथि व्यंग्यवाण प्रहार गरिएको थियो । कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले ‘रेलको टिकट कहिले किनूँ’ भन्दै ओलीलाई उडाएका थिए । संसदको त्यो ‘रेल भनाभन’ निक्कै चर्चित भएको थियो । केही महिना अघि प्रतिनिधिसभामा भएको त्यो रेल भनाभनको जवाफ ओलीले अहिले आएर दिएका छन् । 

पानी जहाजको सपनालाई लिएर जनस्तरमा आफूलाई उडाउने काम भएको ओलीलाई जानकारी रहेछ । उनले जनस्तरबाट उडाइएको कुरालाई चाहिँ खासै जवाफ दिएनन्, सामान्य सम्वोधन मात्र गरे । पहिलो पटक प्रधानमन्त्री बन्दा प्रधानमन्त्री निवास बालुवाटार अगाडि कांग्रेसको भ्रातृ संगठन नेवि संघले कागजको पानी जहाज प्रदर्शन गरेर ओलीलाई उडाउने र खुइल्याउने काम गरेको थियो । शायद ओलीले त्यो चाहिँ सम्झेनछन् क्यार, जवाफ दिएनन् । उनले विद्यार्थीहरुलाई जवाफ फर्काउन उचित नठानेका पनि हुन सक्छन् । 

रमाइलो कुरा के भने ओलीले पानी जहाज सम्वन्धमा मज्जैसँग अध्ययन गरेका रहेछन् । उनले पानी जहाज कसरी चल्छ भन्ने थ्योरी बताए, फ्ल्याट जहाज चलाउने कुरा बताए, गंगा नदीको पानीको वहाव बारे बताए । अर्थात्, ओलीलाई पानी जहाजको ‘भूत सवार भएको’ रहेछ । उनले भाषणमै भने– प्रधानमन्त्री भएपछि पनि मैले यसबारेमा अध्ययन गरें ।

पानी जहाज सम्वन्धमा ओली उपर ब्यंग्य प्रहार हुने र ओलीले जवाफ दिने रमाइलो प्रसंग बेग्लै कुरा हो तर पानी जहाज ओली सरकारका लागि अपूर्व उपलब्धी हो । ओलीले पानी जहाज गफ मात्र होइन, यथार्थ हो भन्ने ढोका उघारेका छन् । नेपाललाई पानी जहाजको युगमा नभएर ‘इन्ल्याण्ड वाटर लिंक’मा प्रवेश गराइएको आशय ओलीले बोलेका छन् । 

ओलीको पानी जहाज भाषणका केही मुख्य अंश :

♦ नेपाल अब पानी जहाज युगमा संगठित ढंगले प्रवेश गरेको छ । कार्यालय खोलेर, तत्सम्वन्धमा काम गर्ने स्थान, जनशक्ति, योजना, यी सबका सबका साथ नेपाल अगाडि बढेको छ । यस सफलताका लागि सबै नेपाली जनतालाई वधाई भन्न चाहन्छु । 

♦ मैले अघिल्लो पटक पधानमनत्री हुँदा समुद्र सबैको साझा भनेको थिएँ । समुद्रको तट क्षेत्र र केही क्षेत्र मात्र कुनै देशको अधीनमा हुन्छ । प्रश्न वन्दरगाहको स्वामित्वमा हुन्छ । वन्दरगाह भयो भने वन्दरगाहभन्दा उता समुद्र त सबैको हो । हामीसँग वन्दरगाह त छँदै थियो, जहाज मात्रै चलाएका थिएनौं । अब पानी जहाज चलाउने, भाडामा पनि लगाउने ।’

♦ मलाई थाहा थिएन, ०२७ सालमा पनि पानी जहाज सम्वन्धमा केही प्रयास भएको रहेछ । मलाई कसरी सम्झना भएन आश्चर्य लाग्यो । ०२७ सालमा म राम्ररी बुझ्ने भइसकेको थिएँ, राजनीतिमै थिएँ । जब हमला सुरु भयो त्यसपछि मैले खोजिनिति गर्दा ०२७ सालमै सुरु भएको रहेछ । मलाई खुसी लाग्यो । 

♦ विश्वको दुई तिहाई भाग पानीले ढाकेको छ, त्यसको एउटा भाग हिन्द महासागर हाम्रो नजिकै छ । बंगालमा जाने ठूलो नदी गंगा हामीबाटै बग्छ । गंगाको पानीको सुखायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत हाम्रो देशबाट जान्छ । गंगामा जहाज चल्न सक्छ । ठूलो होइन सानो जहाज चल्छ । सानो भनेको वोट होइन, र्याफ्टिङ होइन । सानो भनेको पनि धेरै टन सामान बोक्ने नै हुन्छ । जब त्यहाँ चल्छ भने यहाँ पनि चल्छ ।

♦ भारत भ्रमण जानु अघि मैले खबर पठाएँ– हामी दुईटा कुरा महत्वसाथ उठाउँछौं, एउटा जलमार्ग, अर्काे वीरगञ्ज काठमाडौं रेलमार्ग । यसको छिनोफानो गर्न चाहन्छौं । हामी यहाँबाट रेलबाट हल्दिया होस या विशाखापट्टनम सम्म र रेलबाट सामान पठाउँछौं, त्यहाँबाट सकेसम्म आफ्नै पानी जहाजबाट ल्याउँछौं । अथवा त्यसको सट्टा कोशीसम्म सामान ल्याउँछौं र राखेर अन्त लैजान्छौं । हाम्रा विभिन्न वैकल्पिक बाटो हुन्छ । इन्ल्याण्ड वाटर वे अर्थात् जलमार्गको रुपमा नदीहरुलाई प्रयोग गर्ने सम्भावना छ । 

♦ म इन्जिनियर साथीहरुलाई पनि भन्न चाहन्छु, भइरहेको जहाजको ढाँचाबाट मात्र सोच्नुपर्छ भन्ने केही छैन । भइरहेको गाडीको ढाँचाबाट मात्र सोच्नु भएन । सानो घुम्तीका लागि छोटो गाडी बनाउनुपर्छ । जहाज सानो ठाउँमा पनि घुम्नसक्छ । गहिरो पानी छैन, फिजिएको पानी छ भने फिजिएकै जहाज बनाए हुन्छ । पानीमा तैरिने एउटा थ्योरी हुन्छ नि, जहाज जति फ्ल्याट बनाउनुहुन्छ, पातलो पानीमा पनि बस्न सक्छ । हामीले साँघुरिएको खोलामा जहाज लैजानु छैन, बरु गहिराइको समस्या हुनसक्छ । नहरहरु निकालेर नदीमा पानी थोरै भएको अवस्था हुनसक्छ । जहाजको तलको पातोलाई अलिकति फराकिलो बनाइदिनु ठूलो कुरा होइन । 

♦ हाम्रा नदीहरुमा जहाज चलाउन सकिन्छ । चलाउन सकिँदैन भन्ने पूरानो थ्योरीले काम गर्दैन । चलाउने थ्योरी निकाल्नुपर्छ । चलाउने थ्योरी लगायो भने चलाउन सकिन्छ । त्यही अनुसार भारत भ्रमयामा जाँदा कुरा गरें, अनि रेल र पानी जहाज दुवैमा सहमति भयो । 

♦ ल्याण्डलक्ड भनेको समुद्र नछोएको मात्र होइन, जलमार्ग नभएको पनि हो । हामीसँग समुद्रसँग जोडिएको नदी छ । जलमार्गबाट समुद्रसँग जोडिन सक्छौं । हामी कम्प्लिट ल्याण्डलक्ड होइनौं, भुई नछोइकन हाम्रो जमिनबाट संसार घुमेर आउन सक्छौं भने ल्याण्डलक्ड भनिरहनुको आवश्यकता छैन । 

♦ अन्तराष्टिय सम्वन्धको मामिलामा हामी नयाँ उचाईमा पुगेका छौं, कनेक्टिभिटीका सम्वन्धमा नयाँ उचाईमा पुगेका छौं । एकातिर भारतसँग हाम्रो यातायातका सन्दर्भमा, रोड कनेक्टिभिटी छँदै थियो । अब हामीले रेल र जलमार्गको पनि कुरा गर्यौं । रेलभन्दा छिटो जलमार्ग बन्छ । मैले यहाँ बस्दाबस्दै जानकारी पाएँ– भारतले गण्डक सम्वन्धमा आफ्नो डिपीआर तयार पारिसक्यो । ठिक छ भन्ने निष्कर्ष निकालिसक्यो । 

♦ जहाजको बाटोमा कहिलेकाहिँ पूलहरु पर्छ, पूल मुनिबाट जहाज जाँदैन भने डाइभर्सनदेखि अनेक सिस्टम बनाउन सकिन्छ । पूल नै माथि उठ्ने पनि बनाएका छन् । अनेक उपाय हुनसक्छ । त्यसकारण हामीले पानी जहाज कार्यालय खोलेको अलिकति मानिसले जागिर खाउन् भनेर होइन । पाँचसात जना इन्जिनियरलाई काम दिन खोलेको होइन । देशलाई एक कदम अगाडि बढाऔं भनेर खोलेको हो । 

♦ निकट भविष्यमा नेपालसँग पानी जहाज हुनेछ । नेपालले पानी जहाज चलाउनेछ । केही मानिसले एकदुई महिना दुईचार महिना जिस्काउनेछन् । कार्यालय खुल्यो भने टिकट काट्न पाइन्छ होला नि भनेर जिस्काउँछन् । टिकट काट्न पक्कै पाइन्छ । केही महिना पर्खनुस् । अलिकति पर्खनुस् तर पक्कै पाइन्छ । साथीभाइहरुलाई ढुक्कले जवाफ दिए हुन्छ । 


 

प्रतिकृया दिनुहोस