• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

इरानले दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ अमेरिकालाई नदिने

रासस

रासस

इरान ।  इरानको उड्‍डयन प्राधिकरणले इरानमा बुधबार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ अमेरिकालाई नदिने बताएको छ ।

अमेरिकी बोइङ कम्पनीकाे बोइङ–७३७ यूक्रेनी विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमा दुर्घटना भएकाे थियाे । घटनामा चालक दलका सदस्यसहित १ सय ७६ जनाको निधन भएको थियाे ।

इरानको नागरिक उड्ययन संगठनका प्रमुख अलि अबेद्जादेहलाई उद्धृत गरी मेहर न्यूज एजेन्सीले उल्लेख गरेको छ – 'हामीले ‘ब्ल्याक बक्स’ निर्माण कम्पनी वा अमेरिकालाई दिने छैनौं  । ब्ल्याक बक्स अनुसन्धानका लागि कुन देशमा पठाउने विषयमा अझै निर्णय हुन बाँकी नै छ ।'

युक्रेनको अन्तर्राष्ट्रिय विमान सेवाको उडान नम्बर पीएस७५२ विमानस्थलबाट छुटेको केही समयभित्र दुर्घटना भएको र दुर्घटनाको केही समयभित्र नै ‘ब्ल्याक बक्स’ भेटिएको इरानले बताएको छ ।

अबेद्जादेहले भने – 'अन्तर्राष्ट्रिय उड्‍डयन कानुनमा आधारित भएर इरानले ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि अमेरिकालाई दिने वा नदिने इरानको अधिकारको कुरा हो ।'

इरानी अधिकारीका अनुसार इरानी उड्‍डयन संगठनले ‘ब्ल्याक बक्स’ को अनुसन्धान गर्नेछ । तर यस अनुसन्धानमा युक्रेनी प्राविधिकहरू उपस्थित रहन सक्नेछन् ।

‘ब्ल्‍याक बक्स’ को अनुसन्धान र व्याख्याका लागि खासगरी बेलायत, फ्रान्स, जर्मनी र अमेरिका विश्वसनीय मुलुक मानिन्छन् । 

प्रतिकृया दिनुहोस