जलिरहेछ अष्ट्रेलिया, डढेलाे व्यवस्थापनका लागि छुट्याइयाे दुई अर्ब डलर
(रासस/एएनआई) =
विगत केही महिनादेखि अष्ट्रेलियामा लागेको डढेलो नियन्त्रणका लागि त्यहाँकाे सरकारले दुई अर्ब अष्ट्रेलियाली डलर छुट्ट्याएको प्रधानमन्त्री स्कट मोरिसनले घाेषणा गरेका छन् ।
उक्त रकम डढेलो प्रभावित किसान, साना उत्पादक तथा डढेलोका कारण मानसिकरूपमा प्रभावित नागरिकलाई आवश्यक कार्यक्रम सञ्चालनका लागि उपलब्ध गराइने छ ।
डढेलोको खतरा अझै पनि कम नभएपछि अष्ट्रेलियाकाे न्यू साउथ वेल्स प्रान्तमा गत शुक्रबारदेखि एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ ।
मोरिसनले भनेका छन्- “डढेलोबाट प्रभावित यस राष्ट्रको उथ्थान र भविष्यलाई आवश्यक पर्ने सबै क्षेत्रमा लगानी गरी देशलाई थप व्यवस्थित गर्दै अघि बढ्नेछौँ ।”
अष्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा धेरैजना मानिसकाे निधन भएको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेकाे बताइएको छ ।
अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर वन तथा घाँसे मैदान तथा वस्ती जलेको अाँकलन गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा ठूलाे भएको बताइएको छ । त्यस्तै, डढेलोका कारण यहाँका जङ्गलमा जनावरहरू रहेका ठूलो सङ्ख्यामा मरेका छन् । यद्यपि मारिएका जनावरबारे फरक फरक अनुमानहरू आएका छन् ।
यसवर्ष अष्ट्रेलियामा गर्मी अत्यधिक महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अष्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनमा देशका अधिकांश स्थानमा तापक्रम वृद्धि भएको छ ।


प्रतिकृया दिनुहोस