पानीजहाजको सपना साकार
काठमाडौं । धेरैले ठट्टाजस्तो ठानेको र हासोको विषय बनेको ‘नेपालमा पानीजहाज’ को सपना साकार हुने संघारमा आइपुगेको छ । नेपालमा पानी जहाज चलाउने सपना कहिल्यै विपना हुँदैन भन्दै अनेक व्यंग्य सिर्जना गरिएका थिए । ती व्यंग्यलाई निस्तेज तुल्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानीजहाज कार्यालय’ उद्घाटन गरेका छन् ।
नेपाली पानी जहाजको सपनालाई चर्चित बनाउने काम ओलीले नै गरेका थिए । अघिल्लो प्रधानमन्त्रीत्वकालमा उनले पानीजहाजको सपना बाँडेका थिए । त्यसवापत ओलीलाई अनेक व्यंग्य गरिएको थियो । अहिले आएर पानी जहाज कार्यालय उद्घाटन गर्ने पनि ओली नै भएका छन् ।
आफ्नो सरकार एक वर्ष पुगेको अवसर पारेर ओलीले कार्यालय उद्घाटन गरेका हुन् । ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालय स्थापना गरिएको छ र सोही भवनमा उनले उद्घाटन गरेका हुन् ।
आफ्नो सरकार एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्वोधन गर्नु अघि ओलीले कार्यालय उद्घाटन गरेका हुन् ।
विहारलाई लक्षित गरी भारतले कोशी र गण्डक नदीमा पानी सञ्चालन परियोजना अगाडि बढाएपछि पानीजहाजको माध्यमबाट समुद्रसँग नेपाल जोडिने सम्भावना झन प्रबल बनेको हो ।
नेपालमा पञ्चायतकालमै पानीजहाजको परिकल्पना गरिएको थियो र ऐन समेत बनाइएको थियो तर त्यो सपना कहिल्यै विपना भएको थिएन । सोही ऐन अनुसार कार्यालय स्थापना गरिएको हो ।
पानी जहाज कार्यालयको काम नेपाली पानीजहाज दर्ता गर्नु तथा सञ्चालन गर्नु हुनेछ । यो कार्यालय पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत रहेको छ । पानीजहाज सञ्चालनका लागि भारतसँग थप सम्झौताहरु गर्नुपर्ने हुन्छ भने कतिपय सम्झौताहरुलाई परिमार्जन गर्नुपर्ने हुन्छ ।
यो कार्यालय ०७७ चैतसम्म मात्र रहनेछ । त्यसअघि नै सरकारले जलयातायात प्राधिकरण बनाउने कार्ययोजना रहेको छ । यस्तो कार्ययोजना मन्त्रिपरिषदले पारित गरिसकेको छ । त्यसैगरी पानीजहान सम्वन्धी पूराना ऐन पनि संशोधन गरिने छ ।


प्रतिकृया दिनुहोस