• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

‘गमबुटको डोब’ ले पत्ता लगायो काभ्रेमा दम्पतिका हत्यारा

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । श्यामकृष्ण श्रेष्ठ (५३ वर्ष) र रुकुमाया श्रेष्ठ (५० वर्ष) को हत्या भयो । गाउँलेले बिहानपख थाहा पाए । उनीहरुको घाँटी रेटिएको थियो, शरीर क्षतविक्षत बनाइएको थियो । उनीहरु काभ्रेको नमोबुद्ध गाउँपालिका स्थित डराउने पोखरीमा चिया तथा किराना पसल चलाउँथे । पतिपत्नी मात्र घरमा बस्थे । १९ कार्तिक ०७६ को रात श्यामकृष्ण र रुकुमायाले अन्तिम श्‍वास फेरे । 

बिहान प्रहरी घट्नास्थल पुग्दा रगतको आहाल थियो । हत्याराले दम्पतिको शव सिरकले छोपेर गएकोे थियो । नमोबुद्धको डराउने पोखरीमा भएको यो डरलाग्दो हत्याकाण्डमा हत्याराले ब्लेड समेत प्रयोग गरेको थियो । घाँटीको अगाडीको भागमा ब्लेडले काटेको देखिन्थ्यो । 

हत्यारा को हो ? हत्यारा खोज्‍न प्रहरीले सबैभन्दा पहिले हत्याको कारण खोज्‍ने गर्छ । यो हत्याकाण्डमा पनि त्यही गर्‍याे  । अहँ, हत्या हुनुपर्ने कुनै कारण देखिएन ।

यी दम्पतिका यावत सामाजिक र आर्थिक कारोबार प्रहरीले खोतल्यो । परिवार भित्र पनि नियाल्यो । कुनै यस्तो कारण फेला परेन जसका कारण उनीहरुले हत्याको नियति भोग्‍न परोस् ।

अन्धकारबाट अनुसन्धान यात्रा

त्यसपछि यो हत्याकाण्डको गुत्थी सुल्झाउन अगाडि सर्‍याे केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) । अपराध अनुसन्धानमा महारथ हासिल गरेको छ सीआईबीले । सीआईबीका एक अधिकारी भन्छन्– ‘यो हत्याकाण्डको रहस्य सुल्झाउन सजिलो थिएन । हत्यारासम्म पुग्‍ने कुनै पनि सूत्र हामीले घटनास्थलमा पाएनौं । अन्धकारबाट अनुसन्धान थाल्यौं ।’

प्रहरीको अनुसन्धान अन्धकारबाट उज्यालोतर्फ लाग्यो । त्यसपछि पक्राउ परे– उदयपुर चौदण्डीगढीका सुमन राई र किरण मगर ।  यी दुई अभियुक्तसम्म प्रहरी पुगेको थियो– घटना स्थलमा फैलिएको रगतको आहालमा देखिएको छापबाट । एउटा छाप खाली खुट्टाको थियो, अर्काे छाप थियो गम बुटको ।

यसरी परे पक्राउ

सीआईबीले हत्याको कारण खोज्‍न अनुसन्धानको सुई घटनास्थलमा देखिएको जुत्ता र खुट्टाको छापमा केन्द्रित गर्‍याे । त्यसपछि निष्कर्ष निकाल्यो– हत्यारा दुईजना थिए । उनीहरु जो भए पनि एकजना खाली खुट्टा थिए, अर्काले गमबुट लगाएका थिए । र, हत्या मध्यराति भएको थियो । 

एकजना किन खाली खुट्टा थिए ? अर्काे मानिसले मध्यराति किन गमबुट लगाएको थियो ? 

अनुसन्धान गमबुटमा केन्द्रीत भयो । 

गाउँमा गमबुट लगाउने तीन थरी मानिस हुन सक्ने निष्कर्ष निकालियो । एक– निर्माण कार्यमा संलग्‍न मजदूर । दुई– कृषि मजदूर । तीन– वृद्ध या उमेर ढल्किएका पुरुष । कृषि मजदूरले गमबुट लगाउने सिजन थिएन । अर्काे सम्भावना बच्यो– वृद्ध पुरुष । हत्याको प्रकृति हेर्दा वृद्ध या उमेर ढल्किएको मानिस होइन भन्‍ने प्रष्ट थियो । किनभने हत्यामा पर्याप्त बल प्रयोग भएको घटनास्थलबाट प्रष्ट भइसकेको थियो ।

पक्कै निर्माण मजदूर यो हत्यामा संलग्‍न हुनसक्छन्– सीआईबीले निष्कर्ष निकाल्यो । निष्कर्ष निकाल्न त सजिलो थियो तर त्यस्तो निष्कर्षलाई स्थापित गर्दै हत्याराको हातमा हतकडी लगाउनु सजिलो थिएन ।

मजदूरको खोजी

गाउँमा सयौं मजदूर थिए । कोही घर बनाउने, कोही सडक बनाउने, कोही अन्य विभिन्‍न निर्माण कार्यमा संलग्‍न थिए । डराउने पोखरीमा मात्र नभएर आसपासका गाउँमा पनि निर्माण कार्य चलिरहेको थियो । तीमध्ये कोही पनि हत्यारा हुनसक्थे ।

ढुंगाखानी, घर तथा सडक निर्माणमा कार्यरत ९० जना कामदार तथा ट्रिपरका चालक–सहचालकको डिटेल प्रहरीले उतार्‍यो । उनीहरु एक ठाउँमा निर्माण कार्य सकिएपछि अर्काे ठाउँमा जान्थे । यो गाउँबाट ऊ गाउँ जान्थे, यो टोलबाट अर्काे टोल गएका भेटिए । अहँ, सुराक फेला परेन ।

आशा र निराशा

सीआईबीले नजर लगायो– दम्पतिको पसलको उधारो खातामा । खाता हेर्दा ठूलो रकम उधारो खाएर कोही भागेको पनि देखिएन । 

अनुसन्धान फेरि अँध्यारो भयो । कहिँ कतै उज्यालो सुराक फेला परेन । तर, निराश भएन सीआईबी टोली । तर, सीआईबीका एसएसपी रामदत्त जोशी भन्छन्– ‘अपराध अनुसन्धानको प्रसंगमा हाम्रो शब्दकोषमा निराशा भन्‍ने शब्द नै छैन ।’

सीआईबीले त्यसपछि अर्काे उपाय लगायो । ठेकेदारहरुबाट सुराक लिने । सो क्षेत्रमा सक्रिय निर्माण ठेकेदारहरुबाट मजदूरबारे जानकारी लियो । कार्तिक अन्तिम सातातिर ककसले गाउँ छाडे भनी सोधखोज गर्‍यो । 

दुईजना मजदूरले सो क्षेत्र छाडेको पत्ता लाग्यो । उनीहरु थिए– सुमन राई र किरण मगर ।  

करायो पाप धूरीबाट

‘दुई जना’– अन्धकार बन्दै गएको अनुसन्धानमा बत्ती बलेको महशुस भयो सीआईबीबाट खटिएको अनुसन्धान टोलीलाई । उनीहरुको ठेगाना पत्ता लगायो प्रहरी टोलीले– उदयपुर चौदण्डीगढी । टोली उनीहरुको घर पुग्यो । सुमन राई भारत, कोलकाता गएका थिए । किरण मगर काठमाडौं तिरै मजदूरी गरिरहेको थाहा भयो । काठमाडौंमा किरण पत्ता लागेनन् । 

उनै दुईजना हुन् त हत्यारा ? सीआईबी टोली विश्वस्त भने थिएन । उनीहरु दुईको खोजी गर्दै गर्दा अनुसन्धानको अन्य कोणलाई पनि सीआईबीले बन्द गरिसकेको थिएन । 

धूरीबाट पाप कराएछ । सुमन भारतमा बिरामी भएछन् । उनी उपचारका लागि काठमाडौं आए । पिछा गरिरहेको प्रहरी टोलीले सुमनलाई च्याप्पै पार्‍यो । बयान लियो । बयानमा सुमनले हत्याकाण्डको एकएक बयान गरे । किरणसँग मिलेर हत्या गरेको स्वीकार गरे । 

त्यसपछि सीआईबीले आकाश पाताल एक गरेर किरणलाई पनि फेला पारेरै छाड्यो । किरणसँग बेग्लै बयान लियो । किरण र सुमन दुवैले गरेको बयान ट्‍वाक्कै मिल्यो ।

मार्ने र लुट्ने योजना

गत दशैंका बेला किरण र सुमनले श्रेष्ठ दम्पतिको घर बनाउने काम गरेका थिए । घर बनाउँदा चिनजान भएको थियो । यो दम्पतिसँग धेरै पैसा भएको अनुमान उनीहरुले गरे । श्यामकृष्णसँग २२ हजार रुपैयाँ ज्याला लिएर उनीहरु काठमाडौं आए, काठमाडौंमै दशैं मनाए । 

अनुसन्धानमा संलग्‍न एक प्रहरी अधिकृत भन्छन्– ‘दशैंपछि सुमन र किरणले सल्लाह गरे । श्यामकृष्ण दम्पतिसँग धेरै पैसा हुनुपर्छ, अब ज्यामी काम गरेर हुँदैन । ती बुढाबुढीलाई मारेर पैसा लिनुपर्छ र त्यो पैसाले होटल चलाउनुपर्छ । त्यसपछि उनीहरु हत्या गर्न गएका हुन् ।’ 

सुमन र किरण १९ कार्तिक दिउँसो दुई बजेतिर कोटेश्वरबाट भकुण्डेवेंशीको बस चढ्छन् । 

साँझ ५ बजेतिर भकुण्डेवेंशीबाट दाप्चातर्फ उकालो लाग्छन् । राती करिब नौ बजे श्यामकृष्णको घर पुग्छन् । श्यामकृष्ण दम्पति सुतिसकेका हुन्छन् । झ्यालबाट घरभित्र छिर्छन् । टर्च बालेर हेर्छन् । झ्यालबाट मान्छे पसेको आवाज र टर्चको उज्यालोले श्यामकृष्ण र रुकुमाया ब्यूँझिन्छन् । 

गत दशैं अगाडि आफ्नो घर बनाउने कामदार रहेको ठम्याएपछि श्यामकृष्ण दम्पति सोध्छन् – ‘तिमीहरु मध्यरातमा कहाँबाट आयौ ?’ 

उनीहरु उदयपुरबाट काठमाडौं हिँडेको तर, भकुण्डेवेंशीबाट गाडी छुटेपछि बास बस्‍न आएको भन्छन् । 

रुकुमायाले सुमन र किरणलाई चाउचाउ बनाएर दिन्छिन् । त्यसपछि सुमन र किरण भुईंतलामा सुत्छन्, बुढाबुढी पहिलो तलामा गएर सुत्छन् ।

मध्यरात १२ बजे सुमन र किरण उठ्छन् ।  श्यामकृष्ण दम्पती सुतेको ठाउँमा गएर टर्च बालेर हेर्छन् । श्यामकृष्ण निदाएका हुँदैनन् । उनी सोध्छन्– ‘तिमीहरु फेरी किन उठेको ?’ 

जाडो भएकाले रक्सी खान मन लागेको भन्छन् । श्यामकृष्ण उठेर भुँईतलामा आएर लोकल रक्सी एक–एक गिलास दिन्छन्, श्यामकृष्ण आफैंले पनि एक गिलास पिउँछन् । 

र, आयो दुर्दान्त क्षण

रक्सी पिउँदै गर्दा सुमन अगाडि सर्छन्, श्यामकृष्णको घाँटी च्याप्प समात्छन् । श्यामकृष्ण प्रतिकार गर्छन्, त्यहि बेला खुर्पा निकालेर किरणले अन्धाधुन्ध हान्छन् । 

‘सुमनले दाह्रि काट्ने ब्लेडले श्यामकृष्णको घाँटी काटेको उनीहरुको बयानबाट खुलेको छ’ अनुसन्धानमा संलग्‍न एक अधिकृत भन्छन्– ‘तल आवाज सुनेपछि रुकुमाया तल झर्छिन्, त्यतिवेला श्यामकृष्णको हत्या भइसकेको हुन्छ ।’

रक्ताम्य भएर ढलेका पतिलाई देखेपछि रुकुमाया आत्तिन्छिन् । ढोका खोल्न खोज्छिन् । त्यति नै बेला किरणले रुकुमायाको टाउकोमा बियरको बोतलले हान्छन् । श्यामकृष्णको घाँटी काटेको ब्लेडले रुकुमायाको पनि घाँटी रेट्छन् । एउटै ब्लेडले दुईजनाको प्राण जान्छ ।

शवलाई सिरकले छोपेर हत्याराहरु पैसा र गरगहना खोज्‍न थाल्छन् । 

सुमन र किरणलाई लागेको थियो– श्यामकृष्ण दम्पतिको घरमा लाखौं रुपैयाँ भेटिने छ । त्यो पैसाले काठमाडौंमा एउटा होटल किनेर चलाउन सकिन्छ ।

तर, उनीहरुले जम्माजम्मी १५ सय रुपैयाँ र पूराना सिक्काको एउटा पोको मात्र भेट्छन् ।

प्रतिकृया दिनुहोस