निर्माण व्यवसायीले आजदेखि दाेस्राे चरणकाे आन्दाेलन गर्दै : सिठ्ठी जुलुसदेखि संसद् भवन अगाडि काेणसभासम्म
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि दाेस्राे चरणकाे आन्दाेलन थाल्दैछ ।
पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न हुँदा समेत सरकारले आफूहरुका माग सम्बोधन नगरेकाे भन्दै महासंघले दाेस्राे चरणकाे आन्दाेलन गर्न लागेकाे हाे ।
महासंघले आइतबार पत्रकार सम्मेलन गरी दाेस्राे र तेस्राे चरणकाे आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे थियाे ।
दाेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज साउन २२ देखि २६ गतेसम्मका सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टीसहित हरेक दिन बिहान ९ बजेबाट महासंघदेखि संसद् भवनसम्म सिठ्ठी जुलुस प्रदर्शन गर्ने तय गरेकाे छ । संसद् भवन अगाडि काेणसभा गर्ने र संसद् भवन, माइतीघर मण्डला, बबरमहल हुँदै हनुमानस्थानमा धर्ना दिइने महासंघले जनाएकाे छ ।
दाेस्राे चरणमा पनि माग पूरा नभए तेस्राे चरणकाे आन्दाेलन थाल्ने महासंघकाे चेतावनी छ । महासंघले तेस्राे चरणकाे आन्दाेलनका कार्यक्रम पनि सार्वजनिक गरेकाे छ । जसमा अत्यावश्यक बाहेकका सबै निर्माण कार्य अनिश्चितकालका लागि ठप्प पार्ने लगायत कार्यक्रम छन् ।
सबै निर्माण कार्यकाे भुक्तानी हुनुपर्ने लगायत ९ बुँदे माग राखेर महासंघले साउन १४ गतेदेखि पहिलाे चरणकाे आन्दाेलन थालेकाे थियाे ।


प्रतिकृया दिनुहोस