चालक र पैदलयात्री सचेत गराउन ‘ट्राफिक उज्यालो अभियान’
काठमाडौं । सडक दुर्घटना र ट्राफिक जाम न्युनीकरणका लागि ट्राफिक प्रहरी महाशाखाले ‘ट्राफिक उज्यालो अभियान’ शुरु गरेको छ । मङ्गलबार महानगरीय प्रहरी कार्यालयका प्रमुख (डीआईजी) शैलेस थापा क्षेत्रीले सो अभियानको उद्घाटन गरे ।
उपत्यकामा रहेका ४० वटा ट्राफिक प्रहरी युनिटले सवारी चालक, सहचालक, पैदलयात्री र विद्यार्थीमाझ सचेतना अघियान चलाउने भएको हो । अभियान तीन महिना चल्नेछ ।
अभियान उद्घाटन गर्दै डीआईजी शैलेस थापा क्षेत्रीले विद्यार्थी, पैदल यात्री र चालकले थाहा पाइराखेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने जागरुकता सिर्जना गर्नुपर्ने बताए ।
‘रातो बत्तीमा बाटो काट्नु हुँदैन भन्ने थाहा पाएर पनि व्यवहारमा नउतार्ने सडक प्रयोगकर्तालाई उज्यालो अभियानले जागरुक बनाउँछ’ –डीआईजी क्षेत्रीले भने– ‘सडकको संरचनागत समस्याले पनि दुर्घटना बढिरहेको छ, सडक दुर्घटनाको कारण वार्षीक दुई हजारले ज्यान गुमाउँछन्, त्यो संख्या घटाउन हामी कटिबद्ध छौ ।’
अभियान अवधीभर सार्वजनिक सवारीका चालक–सहचालक, निजी सवारी चालक, सरकारी सवारी चालक, पैदलयात्री र विद्यार्थीलाई गरी कूल १ लाखलाई सचेतना कक्षामा सहभागी गराउने योजना रहेको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए ।
कार्यक्रममा सहभागी यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आकाशे पुल र जेब्रा क्रसिङको प्रयोगलाई अनिवार्य गर्न सकेमा काठमाडौं उपत्यकाको दुर्घटना कम गर्न सकिने बताए ।


प्रतिकृया दिनुहोस