• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

असारे विकासको प्रवृत्ति त्याग्‍नैपर्छ : प्रधानमन्त्री प्रचण्ड

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असारे विकासको प्रवृत्ति त्याग्नुपर्ने बताउनुभएकाे छ ।

नेपाल इञ्जिनियर्स एशोसिएशनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार बिहान काठमाडाैंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे - 'आन्तरिक स्रोत साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसै पनि न्यून छ, त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ, विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ, असारमा गरिएका विकास र निर्माण कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ, बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ ।'

विकासमा प्रत्यक्ष संलग्न रहेका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयाे । त्यसमा रहेका कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिहरूमा सहजीकरण गर्न सरकार तत्पर रहेकाे पनि उहाँले बताउनुभयाे ।

मुलुकको आर्थिक विकासका लागि भौतिक पूवार्धारको निर्माण पहिलो शर्त हो भएकाे भन्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार विकासको सम्बन्ध इञ्जिनियरसँग अभिन्न रूपले जोडिएको बताउनुभयाे । '६० वर्षदेखि निरन्तर राष्ट्रको विकास र निर्माण लागिरहनुभएका इञ्जिनियरहरुका सोच-विचार, अनुभव र देश विकासको मार्गचित्रको बारेमा प्रत्यक्ष सुन्ने अवसर पाउँदा म खुशी छु'- उहाँले भन्नुभयाे ।

विकास र पूर्वाधार बिना आर्थिक उन्नति सम्भव नभएकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।‍ विकासका लागि सरकारसँग स्रोत कम रहेकाे भन्दै उहाँले यसका लागि निजी क्षेत्रको लगानी आवश्यक देखिएको समेत बताउनुभयाे ।

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सवका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इन्जिनियर-आर्किटेक्टहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु ।

मानव जीवनलाई सहज बनाउने विधि, प्रविधि र प्रणालीको खोजी गरी तिनलाई कार्यान्वयनमा ल्याउने इञ्जिनियरहरूसँग देश निर्माणका महत्त्वपूर्ण खम्बा हुन् । हामी राजनीतिक क्षेत्रबाट जनताको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन प्रयासरत छौँ । तपाईहरू अत्याधुनिक प्राविधिक शिक्षा, भौतिक पूर्वाधारको निर्माण, हरेक क्षेत्रमा प्रविधिको उपयोगका माध्यमबाट नागरिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउँदै देशको मुहार फेर्न आधुनिक ज्ञान, सीप र अनुभव लिएर समर्पित भइरहनुभएको छ । हामी सबैको लक्ष्य एउटै छ, देश र जनताको सर्वोपरि हित र समुन्नति ।

मुलुकको आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो शर्त हो । भौतिक पूर्वाधार विकासको सम्बन्ध इञ्जिनियरसँग अभिन्न रूपले जोडिएको हुन्छ । ६० वर्षदेखि निरन्तर राष्ट्रको विकास र निर्माण लागिरहनुभएका इन्जिनियरहरुका सोच–विचार, अनुभव र देश विकासको मार्गचित्रको बारेमा प्रत्यक्ष सुन्ने अवसर पाउँदा म खुसी छु ।

नेपाली जनताको निकै ठूलो त्याग र बलिदानको जगमा देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छ । यसलाई सुदृढ गर्दै समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ । राजनीतिक परिवर्तनका हिसाबले हामी सही मार्गमा छौँ । समावेशी लोकतन्त्रले देशका सबै जातजाति, वर्ग, समुदाय, धर्म र लिङ्गका नेपालीहरुलाई राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक र सामाजिक विकासका हर क्षेत्रमा समाहित गरेको छ । तीनै तहका सरकारहरू नागरिकको हितलाई  केन्द्रमा राखेर काम गरिरहेका छन् । नागरिक अपेक्षा सम्बोधन गर्ने चुनौती अहिले पनि हाम्रोसामु छ ।

सूचना र सञ्चार प्रविधिले साघुरिँदै गएको विश्वमा जब मानिसले आफूले चाहेजस्तो सुविधा आफू जन्मिएको हुर्किएको गाउँ, ठाउँ र शहरमा नपाउँदा बौद्धिक पलायनको खतरा रहन्छ, जुन परिस्थिति आज सिङ्गो देशले सामना गरिरहेको छ ।  यसलाई रोकेर देशमै रोजगारी र अवसरको सिर्जना गर्नेतर्फ सिङ्गो देशले गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने बेला आएको छ ।

आन्तरिक स्रोत साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसै पनि न्यून छ । त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ । विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ । असारमा गरिएका विकास र निर्माण कार्य मनसुनको बाढी र पहिरोले बगाउछ । बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ । विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु । यसमा रहेका कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिहरूमा सहजीकरण गर्न सरकार सबै तत्पर छ ।

एशोसिएसनले स्थापना दिवसको अवसरमा तय गरेको “आर्थिक उन्नतिको आधारः विकास र पूर्वाधार” शीर्षकको नारा निकै सान्दर्भिक छ । विकास र पूर्वाधार विना आर्थिक उन्नति संभव छैन ।

विकासका लागि सरकारसँग स्रोत कम छ । त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ । पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस् । आन्तरिक राजश्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस् । विकासको गति तीव्र भएपछि नै हाम्रो आर्थिक अवस्थामा सुधार आउने छ । देशको मुहार फेरिने छ । सबै नागरिकको मुहारमा हाँसो आउने छ, यसका लागि नेपाल सरकार र प्रधानमन्त्रीकारुपमा म स्वयम् लागिरहेको छु ।

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध छ । सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । सरकारको यस अभियानमा तपाईहरूलगायत आम जनसमुदायले देखाउनुभएको अपार समर्थन र ऐक्यवद्धताप्रति नेपाल सरकारको तर्फबाट विशेष आभार व्यक्त गर्दछु ।

अन्त्यमा, ६१ औँ इन्जिनियर दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट काम गरेर पुरस्कृत र सम्मानित हुनुभएका इञ्जिनियर मित्रहरूमा हार्दिक बधाइ ज्ञापन गर्दै फेरि एकपटक नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औँ वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु, धन्यवाद ।

 

प्रतिकृया दिनुहोस