वागमतीको पानी प्रशोधन केन्द्रको निर्माणले पूर्णता पाउँदै
काठमाडौं । वागमतीको पानी सफा बनाउने योजना सफल हुने भएको छ ।
काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन वागमतीको फोहोर पानी प्रशोधन केन्द्रले पूर्णता पाउन थालेसँगै धार्मिक महत्व बोकेको वागमतीको दुर्गन्धित रुप फेरिन लागेको छ । सरकारले ०७० जेष्ठ ५ बाट सुरु गरेको वागमती सफाई अभियानले पुर्णता पाएसंगै यो सम्भव भएको हो । कुनै वेला मुख छोपेर हिड्नु पर्ने वागमती सफा बनाइने भएको छ ।
सो प्रशोधन केन्द्रको उद्घाटन गर्ने दिन छिट्टै आउने खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले बताएकी छिन्। मन्त्री मगरले शुक्रबार प्रशोधन केन्द्रको निरीक्षण गर्दै निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै छिट्टै उद्घाटन गर्ने मिति तय गर्ने बताइन् ।
मन्त्री मगरले प्रशोधन केन्द्रको सबै काम सकिए पनि पार्क निर्माण लगायतका काम बाँकी रहेकाले केही समयमा नै पूरा हुने बताइन् । सम्झौता अनुसार दुई वर्ष अघि सुरु गरिएको प्रशोधन केन्द्रको निर्माण ०७६ साउन महिनासम्म सम्पन्न गर्नुपर्ने थियो । तर अहिलेसम्म निर्माण पूरा हुन सकेको छैन ।
सरकारले वागमती सफाई अभियान अन्तर्गत काठमाडौं उपत्यकाको ढल सिधै नदीमा मिसिन नदिन प्रशोधन केन्द्र निर्माण गर्न लागेको हो ।
२ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गर्न लागिएको प्रशोधन केद्रमा एसियाली विकास बैंक (एडीबी) को १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग रहेको छ ।
सो प्रशोधन केन्द्रबाट बायो ग्याँससँगै विद्युत समेत उत्पादन गर्ने सरकारको योजना छ ।


प्रतिकृया दिनुहोस