• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

हार्दा हार्दै जित्‍न थालेकी सुनिता

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । ०७६ को नयाँ वर्ष सुनिता महर्जनका लागि फापेन । उनले आठौं राष्ट्रिय खेलकुदको लामो तयारी गरेकी थिइन् । दैनिक आठ घण्टा प्रशिक्षण गर्थिन् । नयाँ वर्षको समयमा भएको राष्ट्रिय प्रतियोगितामा उनी पदकविहीन भइन् ।

यो प्रतियोगितामा पदक जितेका खेलाडीले नै सागको अन्तिम छनोट खेल्ने तय थियो, त्यसैले सुनिताले सोचिन्– सपना टुंगियो । तर प्रशिक्षण रोकिएन, भविष्यमा कुनै न कुनै ठूलो प्रतियोगिता जित्ने सपना पाल्न थालिन् उनले । 

भनिन्छ, बहादुरलाई भाग्यले साथ दिन्छ, यस्तै भयो त्यसपछिका ६ महिना । साग आयोजनामा ढिलाइ भएपछि विगतमा राम्रो प्रदर्शन गर्ने केही खेलाडीलाई पनि छानेर प्रशिक्षणमा बोलाइयो । 
सुनिता छनोटकर्ताको नजरमा परिन् । 

त्यसपछि अन्तिम छनोटमा ६८ केजी तौल समूहको फाइनलमा उनले आठौं राष्ट्रिय खेलकुदकै स्वर्ण विजेता सनी तामाङलाई हराइन् । जितसँगै सुनिता व्यक्तिगत स्पर्धाका लागि र सनी टिम इभेन्टस्का लागि छनोट भए । 

२६ वर्षीया सुनिताको प्रशिक्षण निकै कडा थियो । बिहान घरको काम सकेर प्रशिक्षणमा जान्थिन् । श्रीमान् सोहेल महर्जन र घरपरिवारको ठूलो साथ रह्यो । तर, साग भन्दा दुई महिनाअघि बंगलादेशमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सुनिता फेरि पराजित भइन् ।

‘यतिबेला नेपालका धेरै खेलाडीले स्वर्ण जिते । म काँस्यमै सिमित हुनुपर्दा खल्लो लाग्यो’ – सुनिताले हारको पीडा व्यक्त गरिन् । 

हारले सुनितालाई तड्पाएको अवश्य थियो, तर उनको प्रशिक्षण र प्रतिवद्धता डग्मगाएन ।  अन्ततः उनले उनले बंगलादेश र पाकिस्तानका खेलाडीलाई फराकिलो अन्तरले हराएर सागमा स्वर्ण जितिन् । 

बुबालाई स्वर्ण 

सुनिताले जितेको स्वर्ण पदक बुबा नाति महर्जनलाई सुम्पिदिइन् । नाति मनमैजुका स्थानीयवासी हुन् । उनले खेती, किसानी र मालीको काम गरेर छोराछोरी हुर्काए । 

कुनै समय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको महाराजगञ्जस्थित निवासमा नातिले मालीको काम गर्थे । उनको सोझो स्वभाव गिरिजाप्रसादलाई निकै मनपथ्र्यो ।  

‘भन्सारमा जागिर लगाइदिउँ भने त्यहाँ सबै बाठा छन् । तँ जस्तो त दुई दिन पनि टिक्दैनस् ’ – गिरिजाप्रसादले आफूलाई भनेको सम्झदै नातिले भने । गिरिजाप्रसादले नै उनलाई राष्ट्र बैंकमा मालीको काम लगाइदिए । 

छोराछोरी पाल्न समस्या भएको छ कि छैन भनेर उनले नियमित रुपमा नातिलाई सोध्थे ।  

नाति नोस्टाल्जिक भए – ‘गिरिजाप्रसाद जीवित भएको भएँ कति खुसी हुनुहुन्थ्यो होला ? मेरी विजेता छोरीलाई लगेर उहाँसँग भेट्न लान्थें ।’ गिरिजाप्रसादले छोराछोरीलाई डाइट खुवाउनु भनेर बेला–बेला पैसा दिने गरेका थिए उनलाई । त्यही पैसाले पुष्टकारी–गुँदपाक किनेर उनी छोराछोरीलाई दिन्थे । 

गिरिजाप्रसादले नै शशांक कोइरालालाई नातिको दाहिने आँखाको शल्यक्रिया गराइदिन भनेका थिए । 

०२६ सालमै आँखामा फुलो परेपछि २६ वर्षसम्म नातिले उपचार पाउन सकेका थिएनन्  । ‘शशांकले मलाई उहाँकै गाडीमा हालेर अस्पताल लैजानुभयो’– उनी सम्झन्छन् । त्यति बेला चिकित्सकले नातिको आँखा क्यान्सर फैलने सम्भावना देखिएको बताएका थिए । 

‘ढिला भएको भए ज्यानै जानसक्ने अवस्था थियो भनेका रहेछन्’ – नाति भन्छन् । 

नाति अहिले पनि देब्रे आँखाले मात्रै देख्छन् । अप्रेसनपछि पनि गिरिजाप्रसादले नातिलाई आँखाको घाउ ठिक भयो कि छैन भनेर सोधिरहन्थे । 

गिरिजाप्रसादले छोराछोरीको बाटोमा अवरोध नबन्नु, उनीहरुले चाहेजस्तै गर्न दिनु भनेर नातिलाई सुझाव दिने गरेका थिए । नातिले पनि कहिल्यै आफ्नो छोराछोरीलाई यो गर, त्यो गर भनेर दख्खल दिएनन् । 

छोरा विनोद यतिबेला कराँतेमा लागिसकेका थिए । छोरी सुनिता, भतिजी सरस्वती, भतिज दीपेन्द्र सबै मिलेर विनोदलाई हौस्याउन जान्थे । 

११ वर्षकै उमेरदेखि सुनिताले पनि कराँते सिकिन् । नेपालले सागमा कराँतेतर्फ जितेका १० स्वर्णमध्ये एउटा सुनिताको नाममा रह्यो । 

‘अहिले शशांक, अर्जुन नरसिंह केसीलगायत नेताहरुले फोन गरेर बधाई दिनुभएको छ’– दंग पर्दै नाति भन्छन् – ‘छोरीले देशको इज्जत राखेकोमा निकै खुसी लागेको छ ।’
 

प्रतिकृया दिनुहोस