• ५ असोज २०८३, सोमबार
  • Monday,21 September,2026

भारतमा टिकटक प्रतिबन्ध, पालो नेपालको ?

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । गत चैत २८ गते नेपाल सरकारले अनलाइन गेम पब्जी प्रतिबन्ध गर्ने घोषणा गरेसँगै नेपालमा टिकटक पनि प्रतिबन्ध गर्नुपर्ने कुरा उठ्यो । धेरै थरीले व्यङ्ग्यात्मक रूपमा सो कुरा उठाएपनि एकथरि व्यक्तिहरू भने गम्भीर रूपमा नै टिकटक प्रतिबन्ध गर्नुपर्ने आवाज उठाउन थाले । 

के नेपाल सरकारले टिकटक प्रतिबन्ध गर्छ होला त ? नेपालले गर्छ कि गर्दैन, त्यो अहिले नै भन्न सकिन्न । तर भारतमा भने आजबाट टिकटक प्रतिबन्ध भएको छ । 

भारत सरकारको इलेक्ट्रोनिक तथा सूचना प्रविधि मन्त्रालयले प्ले स्टोर र एप स्टोरबाट टिकटक हटाउन निर्देशन दिएको छ । यसअघि करिब १५ दिन अघि भारतको मद्रासमा टिकटक प्रतिबन्ध भइसकेको छ । समाजमा असर परेको र यसले सांस्कृतिक विचलन ल्याएको भन्दै मद्रासको उच्च अदालतले टिकटक प्रतिबन्ध गर्न भनेको थियो । 

मद्रासको उच्च अदालतको आदेश विरुद्ध भारतको सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो । तर पछि सर्वोच्चले उच्च अदालतको आदेश सदर हुने गरी मुद्दा खारेज गरेको थियो । 

धेरै तिरबाट टिकटक विरुद्ध आवाज उठ्न थालेपछि, टिकटकले गत साता नै करिब ६० लाख भिडियो आफ्नो एपबाट हटाएको थियो । सामुदायिक मूल्यमान्यतामा आँच पु¥याएको भन्दै टिकटकले त्यस्ता भिडियो हटाएको थियो । 

तर भारतमा भने पब्जी प्रतिबन्ध हुँदा केही विवाद भएको थियो । ‘डिजिटल इण्डिया’को कुरा गर्ने तर डिजिटल पुस्ताको प्रिय खेल नै बन्द गर्ने भनेर एकथरि समूहले कुरा उठाएका थिए । टिकटक माथि पनि प्रतिबन्ध लागेपछि सो समूह झन् सक्रिय हुने भारतीय मिडियाको विश्वास छ । 

टिकटकले पनि आफूहरूलाई प्रतिबन्ध गर्दा व्यापार त घट्ने नै भयो, भारतका जनताको स्वतन्त्रता माथि पनि खलल पुग्ने भनी एउटा इमेल जारी गरेको थियो ।                    

तर नेपालको प्रसङ्गमा भने नेपाल भारत साइनोले ठुलो भूमिका निर्वाह गर्न सक्छ । भारतमा पोर्न माथि प्रतिबन्ध लागेपछि, नेपालमा पनि पोर्न प्रतिबन्ध भयो । भारतले पब्जी माथि प्रतिबन्ध गरेपछि, नेपालमा पनि पब्जी प्रतिबन्ध भयो । 

अब भारतमा टिकटक माथि प्रतिबन्ध लागेको छ । र अब प्रश्न गर्ने ठाउँ प्रशस्त छ– के नेपालमा पनि टिकटक माथि प्रतिबन्ध लाग्छ होला त ? 
 

प्रतिकृया दिनुहोस