विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा माेबाइल ल्याउन पाउने
काठमाडाैं । वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ६ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भन्सार विभागले आइतबार सूचनामार्फत जानकारी दिएकाे छ ।
यात्रुहरुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ बमाेजिम विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको महसुल नतिरी ल्याउन पाउने एक थान माेबाइल सेटकाे घाेषणा भन्सार कार्यालयमा गर्नुनपर्ने व्यवस्था रहेको विभागले जनाएकाे छ । त्यसरी ल्याएकाे फोन दूरसञ्चार प्राधिकरणकाे एमडीएमएस प्रणालीमा व्यक्ति स्वयंमले अनलाइनमार्फत दर्ता गर्नुपर्ने विभागले जनाएकाे छ ।
वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठककाे निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा सिलप्याक वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउनेछन् । 'श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा ६ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको सम्बन्धमा भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ'- विभागकाे सूचनामा उल्लेख छ ।
अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन् ।



प्रतिकृया दिनुहोस