• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भवन उद्घाटनमा गएका मन्त्रीले भने – ‘अब सेनिटरी प्याड बनाउनुहोस्’

सरोज बस्याल

सरोज बस्याल

काठमाडौं । रामवीर मानन्धर शहरी विकास राज्य मन्त्रीको हैसियतमा बिहीबार पहिलो पल्ट आफ्नो चुनावी क्षेत्र जीतपुर फेदी पुगे ।

काठमाडौं तारकेश्वर नगरपालिका–३ जितपुरफेदी । कुनै बेला भीर रहेको ठाँउमा पक्की भवन बनेको देखरे उनी दंग परे । दिउँसोको घामको राप हातले छेकेर भवनको टुप्पोतिर हेर्दै भने – भवन त गज्जब बनेछ ।  

कार्यक्रम थियो स्वयंसेवी अभियान लगायतका संस्थाको पहलमा निर्माण गरिएको तारकेश्वर महिला कृषि सहकारी संस्थाको भवन हस्तान्तरण ।

तारकेश्वर नगारपालिकामा सहकारीको यति ठुलो भवन यो नै पहिलो भएको आयोजकले गर्व साथ बताए ।

रामवीरले आफ्नो मन्तव्यका क्रममा सहकारीको सुरुवात र नेपालको सम्बन्धमा चर्चा गरे ।

उनले भने – ‘सहकारीको अवधारणा विश्वका कुनै देशले प्रतिपादन गरेको होइन, यो हामी नेपालीले नै गरेको हो ।’

सदस्य तथा आमन्त्रित सबैजना एकछिन अक्क न बक्क भए । नेपालले गर्‍यो होला र ? सबै मुखामुख गर्न थाले ।

मानन्धरले अरुको मनोविज्ञान बुझ्दै प्रश्न सोधे, तपाईंलाई थाहा छैन ?

सबैले एकैपटक थाहा नभएको जनाउ दिए ।

मन्त्री मानन्धरले भने सहकारीको अवधारणा ल्याउने हामी नेपाली नै हौ आश्चर्य मान्नु नपर्ने बताउँदै उनले भने – ‘नेवार जातीमा रहेको गुठी प्रथा नै सहकारी हो ।’

उनले थपे – ‘पहिले गुठीले आवश्यक पर्दा सहयोग दिन्थे । अहिले सहकारीले पैसा दिन्छ । अब सहकारी र गुठीमा के फरक रह्यो ?’

महिला सहकारीको कार्यक्रम भएकाले उपस्थितमध्ये अधिकांस महिला थिए । महिला पनि विशेषगरी सासू बुहारी समूहका । आफ्नो मन्तव्य दिने क्रममा मन्त्री रामवीरले भने– ‘चुरा पोते मात्र होइन, अब सेनेटरी प्याड बनाउनुस् ।’

अकस्मात् उनले यसो भन्दा धेरैको अनुहार रातो पिरो भयो ।

कारण थियो महिनावारी भएको समयमा कसैलाइ नछुने आमाहरुको कार्यक्रममा मन्त्री मानन्धरले महिनावारीको कुरा गर्नु । कार्यक्रममा एकाएक गुनगुन सुरु भयो ।

मन्त्री मानन्धरले भने – ‘तपाईंहरु अप्ठ्यारो मान्‍नु पर्दैन, यो सामान्य अवस्था हो तपाईंहरु आफ्नो उमेरमा नबुझेर दुःख भोग्‍नु भयो । अब तपाईंको सन्तानले त्यो दुःख नपाउन । त्यसैले तपाईंहरु सेनेटरी प्याड बनाउनुहोस् ।’

यो सानो कुरा जस्तो लागे पनि महिलाका लागि महत्वपूर्ण भएको उनले बताए ।

कार्यक्रम सकिने समयसम्म आइपुग्दा तारकेश्वर महिला व्यावसायिक तालिम केन्द्रकी अध्यक्ष शिवकुमारी अर्यालले अब महिलाहरुले सेनेटरी प्याड बनाउन थालनी गर्ने घोषणा गरिन् । उनको यो उद्घोषलाई सवैले तालीको गडगडाहटले समर्थन गरे ।

मन्त्रीलाई फु¥यो अंग्रेजी

प्रमुख अतिथीको रुपमा आमन्त्रित मन्त्री मानन्धर सुरु देखि नेपालीमा भाषण गरिरहेका थिए ।भाषण गर्दागर्दै उनको ध्यान बेलायती नागरिक टेली किङतर्फ मोडियो ।

उनले भने – ‘यूकेबाट आएकी टेली सच्चिकै किङ्ग हुन । टेली किङ्ग इज रियल्ली किङ्ग ।’

टेली युकेकी उनै महान हस्ती हुन तारकेश्वर महिला कृषि सहकारीलाई वर्तमान तारकेश्वर महिला व्यावसायिक तालिम केन्द्रको भवन बनाउन मनग्गे सहयोग गरेकी थिइन् ।

टेली सोरोप्टोमिस संस्थाकी अध्यक्ष हुन् । उनले यो सहकारीका लागि वेलायतमा रहेर स–साना रकम जम्मा गरेर एक करोड २५ लाख सहयोग गरेकी छन् । विशेषगरी यो भवन स्वयंसेवी अभियान ९भीन० को पहलमा बनेको हो ।

१६ हजार रुपैयाबाट खुलेको सहकारी

आजको तारकेश्वर महिला व्यावसायिक तालिम केन्द्र सुरुमा यस्तो थिएन । ०६६ सालमा स्थापना हँुदा जम्मा ३२ जना महिला दिदी बहिनीबाट सुरु गरिएको थियो । ती सबै सदस्यबाट जनही पाँच सय रुपैंयाँ उठाएर बनेको थियो १६ हजार पूँजी ।

यो सहकारीकी अध्यक्ष शिवकुमारी अर्याल विगतका दिन सम्झदै भावुक भइन । भनिन् –‘सहकारी सदस्य बनाउन घरघर जाँदा हाम्रा बुहारी बिर्गान आइ भन्थे, हामीलाई । ’

त्यतिबेला हिम्मत नहारी सहकारीलाई आजसम्मको अवस्थामा ल्याएकोमा गर्व लागेको उनको भनाइ थियो ।

स्थापना कालमा सानो कोठामा हराएको सहकारीको आफ्नै दुई करोडको भवन छ । कृषि सहकारीको रुपमा स्थापना गरिएको सहकारी व्यावसायिक तालिम केन्द्र बनिसकेको छ ।

महिलालाई सिलाइकटाइ तालिम, चुरा पोते लगायतका खादा उत्पादन गर्न सिकाउने गरेको छ । सदस्यलाई कृषि कर्ममा सहजता ल्याउन बीउबिजन, मलखाद तथा विषादीको विक्री वितरण गर्छ । प्रमुख उदेश्य अर्गा्निक उत्पादन गर्ने योजना बनाउदै छ । ३२ जनाबाट खोलिएको सहकारीमा अहिले करिब आठ सय सदस्य छन् ।

स्थापना कालदेखि जोडिएकी अर्याल १० वर्षसम्म अध्यक्ष भइन् । भन्छिन् – ‘अब पुग्यो म अध्यक्ष बन्ने छैन ।’ तर आगामी दिनको लक्ष्य पनि सुनाइन् उनले – ‘अब सेनेटरी प्याड बन्छ ।’

 

प्रतिकृया दिनुहोस