• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

फोटो स्टुडियोमा बनाइन्थ्यो सेना र प्रहरीका नक्कली प्रमाणपत्र

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले बिहिबार एकैपटक काठमाडौंका तीनवटा फोटो स्टुडियोमा छापा मारेको थियो । 

जुन–जुन स्टुडियोमा छापा मारियो, त्यहाँ नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका विभिन्न प्रमाणपत्र तथा सिफारिस नक्कली बनाइने गरेको सुराक सिआईबीले पाएको थियो । 

‘स्टुडियो छापा मार्दा शैक्षिक प्रमाणपत्र पनि धेरै भेटिए’ केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी निरज शाही भन्छन्– ‘प्रारम्भिक अनुसन्धानबाट त्यस्ता नक्कली कागजात स्टुडियोबाटै बन्ने गरेको खुलेको छ, अन्यत्र कारखाना पनि हुनसक्छ, त्यो चाहीँ थप अनुसन्धानबाट खुल्छ ।’ 

एक साताअघि सिआईबीमा नक्कली कागजात बनाउने गिरोहको सुराक आएको थियो । सोही सूचनाका आधारमा बिहीबार तीनजनाको गिरोह सिआईबीको फन्दामा परेको थियो । 

प्लस टु देखि नेपाली सेनाको सिफारिससम्मका कागजात नक्कली बनाएर विक्री गर्ने गिरोहका सदस्यहरु हुन्– ओखलढुंगाका सविन कुमार तोलाङ्गी, चितवनका अमृत सुर्खेती र धादिङका मधुसुदन दवाडी । यी तीनैजना पक्राउ परेका छन् ।

तीन फोटो स्टुडीयो 

गोंगवु टाउन प्लानिङ्गमा छ– श्रेष्ठ फोटो स्टुडियो । ३४ बर्षिय सविन सो फोटो स्टुडियोका साझेदार हुन् । सनिवलाई सिआईबीको टोलीले त्यही स्टुडियोबाट पक्रको हो । 

सिनामंगलमा रहेको स्टार डिजिटल फोटो स्टुडियोको सञ्चालक हुन् अमृत सुर्खेती । उनलाई पनि प्रहरीले स्टुडियोबाटै पक्रेको हो । 

महाराजगञ्जमा रहेको दुवाडी डिजीटल फोटो स्टुडियोका सञ्चालक हुन्– २६ बर्षिय मधुसुदन दवाडी । प्रहरीले उनलाई बसुन्धाराबाट पक्रेको हो । 
यस्ता कागजात बन्थ्यो

फोटो स्टुडियोको आवरणमा नक्कली कागजतपत्र बनाउने धन्दा चलाउनेहरुले प्रहरी प्रधान कार्यालयबाट जारी हुने पुलिस रिपोर्ट, प्लस टुको ट्रान्सक्रिप्ट, माइग्रेसन सर्टिफिकेट, शसस्त्र प्रहरीको तालिम तथा हात हतियार तालिमको सर्टिफिकेट समेत  बनाउने गरेका थिए । 

‘अभियुक्तहरुले विभिन्न विद्यालयको मार्कसिट, राजनीतिक दलहरुका सिफारिस र नेपाली सेनाको सिफारिस बनाएर विक्री गर्ने गरेको पाईएको छ’– डिआईजी शाही भन्छन्– ‘नागरिकता र बैंक स्टेटमेन्ट समेत नक्कली बनाउने गरेका रहेछन् ।’ 

यो गिरोहले विभिन्न राजनीतिक दलको लेटरप्याड समेत बनाउने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुलाई मुलुकी अपराध संहिता ०७४ को दफा २७६ अनुसारको कसुर गरेको मुद्धामा म्याद लिएर अनुसन्धान थालेको छ । सो कसुरमा ७ बर्ष कैद र ७० हजार रुपैयाँ सम्म जरीवाना हुने व्यवस्था छ । 
 

प्रतिकृया दिनुहोस