हामी धेरै अल्मलियौं, रुमल्लियौं, तर अब विकासमा लागौं
डा. कुन्दन अर्याल -
राष्ट्रिय विकास र मिडिया– यी दुईको सम्बन्धमा विश्वमा धेरैवटा पुस्तक लेखिएको छ । खासगरी दोस्रो विश्वयुद्धपछि जब विकासका कुरा धेरै हुन थाल्यो त्यसपछि त्यस सम्बन्धी पुस्तक लेखिने कार्य झन् बढ्दै गयो ।
दोस्रो विश्वयुद्ध पछि नै दिगो विकासका अवधारणा झन् तिब्र रुपमा उठ्न थालेको हो तर हाम्रो विकास दिगो छ कि छैन भन्ने विचारणीय छ ।
दोस्रो विश्वयुद्ध अघि ‘प्लान्ड डेभलप्मेण्ट’ अर्थात् योजनावद्ध विकास भन्ने नै थिएन । उपनिवेशकालमा गरिब मुलुकका स्रोत लुटेर केही देश धनी भए । लुटिएका देशहरु पछि परे ।
कुनै देश धनी कुनै गरिव किन भए भन्दा दुईटा कुरा उठ्यो । एक त केही देशले शोषण गरेर अरु देशको स्रोतमाथि कब्जा गरेर अघि बढेकाले धनी भए भन्ने अवधारणा आयो । अर्काे चाँहि जुन मुलुकका जनता कुनै पनि प्रकारको उत्पादनमूलक काम नगरी बस्छन्– त्यस्ता मुलुक पछि पर्छ भन्ने अवधारणा आयो ।
यो अनन्त वहसको विषय हो । यस विषयमा आगामी दिनमा वहस अगाडि बढाउँदै जाउँला ।
अहिले हामी स्वतन्त्रताको युगमा छौं । लोकतान्त्रिक युगमा छौं । स्वाधीन देश भनेर उभिएका छौं । उपनिवेशवादी युगको शोषण नेपालले भोग्न परेन र देशभित्र पनि त्यस्तो शोषण छैन । राजनीतिक चिन्तनका दृष्टिले हामीमा विविधता छ, हामी विभिन्न विचारका छौं । जुनसुकै पार्टीमा भएपनि, हरेक पाँच वर्षमा आफ्नो मताधिकार प्रयोग गर्न पाएका छौं । राजनीतिक दलहरुलाई पाठ सिकाउन पाएका छौं ।
अब यो सिस्टमभित्र रहेर हामीले गर्ने के ? उन्नति नै हो ।

उन्नति भन्नासाथ सबैभन्दा पहिला कृषि नै आउँछ । र खासगरि कृषिमा मिडियाले निर्वाह गर्ने सक्ने भूमिका के हो ? यस विषयमा ठोस वहस उठान हुन आवश्यक छ । मिडियाले कृषिका ‘इनोभेसन’लाई ‘इन्फेरमेसन’ मा परिणत गर्नुपर्छ । यो नै कृषि पत्रकारिता हो । नवप्रवद्र्धनात्मक कुराहरुलाई कसरी फैलाउने भन्ने कुरामा सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ ।
नयाँनयाँ चिज, विषय तथा वस्तुहरुलाई मानिसले कसरी लिन्छ ? कसरी अपनाउँछ ? कसरी ग्रहण गर्छ ? यो महत्वपूर्ण पक्ष हो । नयाँनयाँ औजारलाई मानिसले कसरी लिन्छ ? नयाँ प्रचलन तथा उपायहरुलाई कसरी ग्रहण गर्छ मानिसले ?
भन्नलाई त सजिलो छ । सैद्धान्तिक कुरा गर्दै, ‘यसो गरे यसो हुन्छ’ भन्न सजिलो छ । तर हामीले समाजको यथार्थलाई हेर्यौं भने के पाउँछौं भने नयाँ कुरा मानिसले सजिलै अपनाउँदैन । नयाँ कुरालाई सजिलै ग्रहण गर्दैन मानिसले । विश्वभरकै मानिसको पवृत्ति हो यो ।
मानिसको यो प्रवृत्तिलाई मिडियाले पहिचान गरेर तद्अनुरुपको भूमिका निर्वाह गर्न सक्नुपर्छ । जस्तै– आलु खेतिकै कुरा गरौं । परम्परागत तरिकाले खेति गर्दा आलु यसरी थोरै फल्छ, आधुनिक तरिकाले खेति गर्यो भने धेरै फल्छ । परम्परागत तरिकाले खेति गर्न छाडेर आधुनिक तरिकाले खेति गर्न किसानलाई उत्प्रेरित गर्न सक्नुपर्छ मिडियाले । उदाहरण देखाइदिन सक्नुपर्छ ।
मिडियाले पूराना कुरा छाड्न अभिप्रेरित गर्न सक्छ । एक ठाउँबाट अर्काे ठाउँमा मिडियाले सूचना फैलाइदिन्छ ।
तर, हामीले कसरी बुझ्नुपर्छ भने, मिडियाले समाचार फैलाउने काम मात्र गर्दैन । सूचना ‘डिष्ट्रिब्युसन’को पाटो एउटा हो । तर सूचना सम्प्रेषण भइसकेपछि हुने एउटा प्रकृया छ, जसलाई हामी ‘डिफ्युजन’ भन्छौं । यसमार्फत नजानिदो हिसाबले त्यो सूचना फैलिरहेको हुन्छ ।
पछि निकैपछि पनि अनि हामीलाई त्यो कुरा कहाँ सुनेको, कहाँ देखेको जस्तो लाग्न थाल्छ । अनि हामीलाई थाह नै नभई हाम्रो मानसिकतामा त्यो बसिसकेको हुन्छ । अर्थात्, सूचनाले प्रभाव पार्छ ।
सूचनाका बारेमा समुदायमा बिस्तारै बिस्तारै छलफल हुन थाल्छ । समुदायले ‘हुन्छ’ भनिसकेपछि विस्तारै हामी त्यसलाई अङगीकार गर्न थाल्छौं । अपनाउन थाल्छौं ।
खासगरी सरकारले कृषि सम्बन्धी कुराहरुमा गम्भीर ध्यान दिनुपर्ने हो । त्यसो हुन सकेको छैन । यस अघि देशको एजेण्डा नै रुमल्लिएको अवस्था थियो । हामी कहिले संविधान त कहिले नयाँ सिस्टम ल्याउनुपर्ने काममा व्यस्त भयौं । हामी अल्मलिएका थियौं, रुमल्लिएका थियौं । बल्ल हामी विकासमा केन्द्रीत हुन थालेका छौं ।
विकासको कुरा गर्दा हाम्रो आर्थिक विकासको आधार कृषि नै हो भन्ने स्पष्ट छ ।
अहिले चाँहि सरकार विकास केन्द्रीत भएको छ । विकास केन्द्रीत भन्नासाथ कृषिमा केन्द्रित हुन लागेको छ । नेपालमा आर्थिक विकासको केन्द्र नै कृषि हो । कृषिको आधुनिकीकरण र औद्योगिकीकरण नेपालको अपरिहार्य आवश्यकता हो । या काममा मिडियाले भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।
र, सनराइज खबर पनि आजबाट यो बाटोमा हिँडेको छ । सनराइज खबर नयाँ अनलाइन आयो । नयाँमै यो प्रभावकारी देखियो । आगामी दिनमा झन प्रभावकारी हुने प्रष्ट भयो, किनभने कृषि जस्तो स्तम्भ थालनी गर्न लागेको छ । धेरै धेर शुभकामना व्यक्त गर्दछु ।
( प्रधानमन्त्रीका प्रेस सल्लाहकार वरिष्ठ पत्रकार डा. कुन्दन अर्यालले सनराइज खबरको कृषि स्तम्भ उद्घाटन समारोहमा राखेको विचारकाे सार संक्षेप )


प्रतिकृया दिनुहोस