मेघराज : जसले नेपाली पशुका लागि आहारा विकास गरे
विकास अधिकारी / असीम तिमल्सिना --
काठमाडौं – १३ औं शताव्दीतिर नेपाल विश्वकै समृद्ध मुलुकहरुमा पथ्र्याे । समृद्ध हुनुका पछाडि एउटा प्रमुख कारण थियो । कारण हो– नेपालबाट निर्यात हुने उच्च गुणस्तरको ऊनबाट निर्मित गलैंचा, राडीपाखी इत्यादि । उत्तर दक्षिणका सम्राटहरुका मा नेपालबाटै आयात गरिएका गलैंचा ओच्छ्याइएका हुन्थे ।
नेपालीको पेशा भनेकै पशुपालन थियो । पशुपालन भनेकै भेडा पालन थियो ।
कतिपयको भनाईमा त नेपाल भन्ने शव्द नै तिब्बती भाषाको ‘ने’ र ‘पाल’ भन्ने शव्दबाट आएको भन्ने छ । जसको नेपाली अर्थ हुन्छ, ‘ऊनको घर’ ।
आजभोलि नेपालले पहिला जस्तो ऊन निर्यात गर्दैन । किनकी त्यस्तो ऊन दिनसक्ने भेडा नेपालमा जम्मा ३६ हजारको संख्यामा मात्र रहेको छ । र, नेपाल अहिले विश्वकै गरिव भनिएको मुलुकमा पर्छ ।
जुम्लाको त्यो घटना
मेघराज तिवारी २५ वर्षअघि सरकारी सेवामा प्रवेश गरे । उनको पहिलो ‘पोष्टिङ’ नै जुम्लामा भयो । त्यहाँ उनले भेडा फार्ममा बसेर अध्ययन अनुसन्धान गर्नुपर्ने थियो । फार्म व्यवस्थित थिएन । स्रोत धेरै थिएन ।
अरु त अरु उनी त्यहाँ पुग्दा भेडा नै थिएन ।
देश जनयुद्धमा थियो । धेरै भेडाहरु लुटिएकाे थियाे ।
एकदुईवटा बाँकी थियो । ती भेडा पनि सबै दुब्ला थिए । तिनै भेडाबाट अनुसन्धान थाल्नु थियो । उनले ती भेडालाई हृष्टपुष्ठ बनाए । फार्म व्यवस्थित बनाए । स्रोत एकिकृत गरे ।
अनुसन्धानबाट फुर्सद हुनासाथ पशु आहारा यसरी बनाउन सकिन्छ, यस्तो पशुलाई यस्तो आहारा खुवाउनुपर्छ भन्दै उनी किसानलाई ‘किसानी’ पढाउँथे ।
तर यति हुँदापनि हिउँदमा भने भेडा भोकै बस्नुपथ्र्याे । जताततै हिउँ नै हिउँ । हरियो घाँस कतै नहुने । मान्छेलाई खान नपुगेको समयमा कसरी पशुलाई खुवाउने ?
उनलाई यो समस्याले निकै पोल्थ्यो । त्यसैले उनी अनुसन्धानमा लागे । अनि निकाले एउटा गज्जबको उपाय ।
हिउँद नलाग्दै ‘चोता’ र ‘कोइरा’ घाँस काट्ने र मज्जाले सुकाएर राख्ने । त्यसो गर्दा घाँस नकुहिने र घाँसको पौष्टिक तत्वमा पनि कमी नआउने । त्यहि घाँस हिउँदको समयमा बचत गर्दै खपत गर्ने ।

उनले यो ‘आइडिया’ सबै पशुपालक किसानलाई दिए । किसान हर्षित भए ।
किसानहरु उनीकहाँ आउँथे । पशुसम्बन्धि समस्या लिएर । उनी सक्दो समाधान गरिदिन्थे । किसान प्रश्न गर्थे, ‘फेरि त्यस्तै समस्या आइपरे के गर्ने ?’ मेघराज उपचारसँगै जवाफ पनि दिन्थे । जुम्लावासी उनीसँग खुसी थिए । उनी आफ्नो कामसँग ।
भेडाको विषयमा थप अनुसन्धान गर्न नपाएपनि किसानलाई चेतना बाँड्नु नै ठूलो भन्ने लागेको थियो उनलाई ।
तर केहि व्यक्तिहरु दिनहुँ चन्दा माग्न आउँथे । उनी दिँदैन थिए । उनीहरु ज्यान मार्ने धम्की दिन्थे । बदलामा उनी भन्थे, ‘यो पैसा मेरो भेडाहरुका लागि हो । तिमीहरुका लागि होइन ।’
यसरी सँधै लड्न सकिँदैन थियो । उनको सरुवा भयो । काठमाडौं फर्किए । उता भेडा एक्लै भए । किसान असहाय भए ।
बेलाबेला काठमाडौं बसेर सुन्थे, उनले हुर्काएका भेडा फेरी उस्तै दुव्ला, निमुखा भए रे भन्ने ।
डा सा’वबाट मेघराज सरसम्मको यात्रा
जुम्लाबाट फर्किएपछि उनको सरुवा कृषि अनुसन्धान केन्द्र अन्तर्गतको ‘पशु आहारा महाशाखा’मा भएको थियो । अब उनी अध्ययन अनुसन्धान मात्र गर्ने विशेषज्ञ रहेनन् । उनी देश चहार्दै किसानलाई किसानी पढाउने ‘मेघराज सर’ भए ।
नेपालका करिव ७४ जिल्ला पुगेका छन् । किसानलाई पशु आहारासम्बन्धी चेतना बाँड्न । अनेक थरिका पशु आहारा सम्बन्धी अनुसन्धान गरेका छन् । जति ज्ञान आफुले प्राप्त गरेका छन्, सबै किसानसँग पनि बाँडेका छन् ।
उनले किसानलाई पढाएका मात्र छैनन् । किसानसँग पढेका पनि छन् ।
एकपटक एउटा हिमाली जिल्लाको भ्रमणमा रहँदा, त्यहाँ एकजनाको गाई निकै विरामी परेछ । गाईको पेट फुलेर निकै ठूलो भएको थियो । मेघराजले गएर हेरे । रोग पत्ता लगाउन सकेनन् ।
यत्तिकैमा एकजना वृद्ध त्यहाँ आइपुगेछन् । ती वृद्धले सबै समस्या बुझेछन् । र बुझेपछि, अलिकति चुक अमिलो मागेछन् । उनले त्यो चुक, विरामी गाईलाई खुवाए् । यसपछि, त्यसदिन सबैजना घर फर्किए ।
भोलिपल्ट मेघराज आफैं गएछन् विरामी गाई हेर्न । गाई त निको भइसकेको रहेछ ।
यो घटनाबाट आफूले ठूलो शिक्षा पाएको बताउँछन् । यहि घटनापश्चात हो, उनले घरेलु उत्पादनलाई कसरी पशु आहाराको रुपमा विकास गर्न सकिन्छ भनेर अनुसन्धान गर्न थालेको । यसपछि नै हो उनले कम लागतमा पशु आहारा विकास गरेर धेरै मुनाफा लिन सकिने नेपाली प्रविधि विकास गरेको ।
उनले नै २८ दिनमा कुखुराको चल्ला अढाई किलो बनाउने दाना विकास गरे ।
पशुपंक्षीलाई आहारा खुवाउँदा ७५ प्रतिशत शक्तियुक्त, २३ प्रतिशत प्रोटीनयुक्त, एक प्रतिशत नुन र एक प्रतिशत खनिज तत्व हुने गरी खुवाउनुपर्छ भन्ने निष्कर्श निकाले ।
उनका अनुसार हाल नेपालमा खपत हुने पशुआहारा मध्ये करिव ७० प्रतिशत पशु आहारा भारतबाट आयात हुन्छ । र जति आयात हुन्छ, भारतीय आहारा गुणस्तरीय हुँदैन ।
उनले मकै, स्याउ, सुन्तलाका बोक्रा लगायतका खेर जाने घरेलु वस्तुलाई पशु आहारामा परिणत गर्ने प्रविधि विकास गरे । धेरै पशुपालक किसान यसबाट लाभान्वित भए ।
त्यस्तै, उनले नै हरियो घाँसलाई प्रचुर मात्रामा पौष्टिक तत्व भएको गुुन्द्रुकमा परिणत गरी खेर जान नदिने प्रविधिको विकास गरे ।
परालमा पशुलाई चाहिने पौष्टिक तत्व कम हुन्छ । पराल कसरी ख्वाउँदा वढी पौष्टिक तत्व पाउन सकिन्छ भन्ने लगायतका प्रविधि विकास गरे ।
उनले जति प्रविधि विकास गरेका छन्, जति अनुसन्धान गरेका छन्, त्यति नै ज्ञान किसानलाई बाँड्ने गरेका छन् ।
गनेका त छैनन् तर अहिलेसम्म हजारौं किसानलाई पढाईसकेका छन् । करिवकरिव दुईतीन सय किसान र उनीहरुको समस्यालाई प्रत्यक्ष निगरानी गरेका छन् ।
उनले किसान पढाएकोपनि २५ वर्ष भइसकेको छ । न त उनी आफ्नो अध्ययन अनुसन्धानलाई लिएर घमण्ड गर्छन् न त तिनमा ‘कपिराईट’ लगाउँछन् ।
उनी भन्छन्, ‘जुन दिन मेरो अनुसन्धानमा ‘कपिराईट’ लाग्छ, त्यसदिन म अनुसन्धानकर्ता होइन, व्यापारी हुन्छु ।’ अर्काे कुरा के भने उनको अनुसन्धान निजी होइन, सरकारी सेवामा रहेर सरकारको खर्चमा अनुसन्धान गर्छन् । उनका अनुसन्धान नेपाली किसानप्रति समर्पित छ ।
अब छैन धेरै दिन बाँकि
अबको दुई वर्ष सात महिनापछि उनी कहिल्यै नसकिने एउटा लामो विदामा बस्दैछन् । अर्थात् उनको अवकाश हुँदैछ । सरकारी हैसियतमा किसानलाई ‘किसानी’ पढाउन पाउने छैनन् उनले ।
उनको ठूलो चाहना थियो– भ्याङलुङग प्रजातिको भेडाको अनुसन्धान गर्ने । यो भेडाले हिउँ जति पनि सहनसक्छ तर वर्षा भने फिटिक्कै सहन सक्दैन ।
मेघराजले यहि भेडाको अनुसन्धान गर्न चाहनुको कारण के थियो भने, यो त्यहि प्रजातिको भेडा हो, जसबाट उत्कृष्ट ऊन निकाल्न सकिन्छ । त्यहि गुणस्तरको ऊन, जुन हाम्रा पुर्खाले १३ औं शताव्दीमा निकाल्थे ।
तर सरकारले उनको अनुसन्धानलाई भनेजति बजेट कहिल्यै दिएन । उल्टै बेला बेला सरुवा गरिदिन्थ्यो । उनले पनि अनुसन्धान पुरा गर्न सकेनन् । नत्र उनको ठूलो सपना थियो, प्राचीन नेपाल समृद्ध बनाउने भेडालाई आधुनिक नेपालमा पनि उपयोग गर्ने ।
अब उनको एउटै रहर बाँकी छ । आफूकहाँ आउने किसानलाई ‘किसानी’ पढाउने । नार्कमा आउने नयाँ वैज्ञानिकलाई आफूले जानेका सीप, कौशल, अनुभव र ज्ञान बाँड्ने ।
तर उनलाई अझै डर लाग्छ । कतै सरकारले फेरि उनलाई सरुवा गरिदिने त होइन ?


प्रतिकृया दिनुहोस