सरकारले वृद्ध भत्ता बढाउने, पाँच हजार रुपैयाँ पुराउने
काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ वृद्धभत्ता । वाम गठवन्धनले गत चुनावमा वृद्धभत्ता पाँच हजार रुपैयाँ पुराउने घोषणा गरेको थियो तर गत आर्थिक वर्षको वजेटमा वृद्ध भत्ता अलिकति पनि बढाइएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १९ माघमा सिराहा पुगेर वृद्धभत्ता बढाइने घोषणा गरेका थिए । उनले भत्ता कति बढाउने चाहिँ खुलाएका थिएनन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि वृद्धभत्ता बढाइने बताएका छन् । पोखरेलले काठमाडौं महानगरपालिकाले बनाएको वडा कार्यालय भवन उदघाटन समारोहमा वृद्ध भत्ता बढाइने घोषणा गरेका हुन् ।
सिराहामा प्रधानमन्त्री ओलीले झैं काठमाडौंमा उपप्रधानमन्त्री पोखरेलले पनि वृद्ध भत्ता कति बढाइने भन्ने चाहिँ खुलाएनन् । आउँदो १ फागुनबाट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको उनले जानकारी दिए ।
वृद्धभत्ता सम्वन्धमा उपप्रधानमन्त्री पोखरेलले भने– ‘सरकारले सामाजिक सुरक्षा र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्दै ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा कार्यक्रम सुरु गरिसकेको छ । अब वृद्धभत्ता बढाइने छ ।’
‘चुनावमा वाचा गरे अनुसार यो सरकारले वृद्धभत्ता पाँच हजार रुपैयाँ पुराउने छ’– पोखरेलले भने ।


प्रतिकृया दिनुहोस