• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

जङ्गल फाँडेर घर खेत

रासस

रासस

 

जाजरकोट ।  दश वर्ष अघि घर नजिकै प्रशस्त घाँस, दाउरा पाउने नलगाड नगरपालिका–८ का हरिबहादुर खत्री अचेल दिनभरि जङ्गल धाउदाँ पनि मुस्किलले एक भारी घाँस दाउरा सङकलन गर्छन । 
घाँस मात्र होइन, घर नजिकै घनाजङ्गल र वन्यजन्तु भेटिने हुँदा सजिलै बालबालिका घर बाहिर जान डराउथे । 
बिहान जङ्गल लगिएका घरपालुवा जनावर थोरै समयमा पेटभरि घाँस खाएर समयमै घर फर्कने गरेको अनुभव सुनाउछन् खत्री । 
एकै घरमा पाँचभन्दा बढी भैँसी र ४० भन्दा बढी भेँडा, बाख्रा पाल्दा आम्दानीको स्रोत राम्रो हुने गरेको उनले बताए । 
विगतमा घनाजङ्गल भएको ठाउँमा अहिले खेतबारी, घर निर्माण गरिएका छन् । उनले  भने, “पहिले मानिस मृत्यु हुँदा गाडिएका खाडलमा अहिले हाम्रा गाउँलेका घर छन्, स्याल, बाघ कराउने वन फँडानी गरेर अन्नबाली लगाइएको छ ।” 
चारैतिरबाट वन जङ्गल फँडानी गरेर नयाँ बस्ती बसाउँदै गाउँ नै बनाउने क्रम नरोकिँदा प्रकृतिको दोहन भएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीको आरोप छ ।
 उनले भने, “हामीले वन जङ्गल संरक्षण भन्दा वन फँडानी गरेर आफ्नो बाच्ने आधार खोजिरहेका छौँ, यो क्रियाकलापले हामीलाई नै क्षति पु¥याएको छ, हिजो भएका पानीका मूल अहिले विस्तारै सुक्दैछन् ।” 
दश वर्ष अगाडि सजिलै घाँस, दाउरा, कालीज पाउने ठाउँमा अहिले मानव बस्ती छन् । 
एउटा लौरी बनाउने काठ खोज्न त दुई घण्टा समय खर्चनुपर्ने गुनासो गर्दै  उनले  भने “राज्यले बनाएका नीति नियम हामी आफैँ मान्दैनौँ, समुदायिक वन समूह कमाइ खानमा केन्द्रित भए, कसरी हुन्छ नियन्त्रण ? 
रक्षक नै भक्षक भएपछि । ” जिल्लाका सामुदायिक वन समूहले वन जङ्गल संरक्षणका लागि हर समय चिन्तित हुनुपर्ने हो । कसरी कमाउन सकिन्छ भन्ने चिन्ताले गर्दा सामुदायिक वन दैनिक मासिँदै गएको डोल्पा मुड्केचुला गाउँपालिका–७ का कृष्णबहादुर सिंहको आरोप छ । उनले भने,  “सामुदायिक वन कब्जा गरी व्यक्तिले भोगचलन गर्ने क्रम बढेको छ, स्थानीय सरकारले सूचना वडा कार्यालयमा टाँस्दैमा वन फँडानी र वन्यजन्तुको संरक्षण हुन्छ भन्नु सपना मात्र हो ।” वन मासिँदै जाँदा आजभोलि जङ्गली जनावार गाउँमा पस्न थालेको स्थानीयवासीको भनाइ छ । 
दैनिक मानव र वन्यजन्तुको भीडन्त हुँदा समस्या पैदा भएको छ । 
दशैँको मुखैमा नलगाड नगरपालिका–६ मा भालुको आक्रमणमा एक स्थानीय घाइते भए । 
बारेकोट गाउँपालिका–४ गोठगाउँमा भालुकै आक्रमणमा दुई घाइते भए । एउटा गाई म¥यो ।
 हरियो वन नेपालको धन भन्ने उखान विस्तारै हरियो वन बाठा, टाठाको धन भएको छ भने भेरी नगरपालिका–१ का रामबहादुर खत्री । 
वन संरक्षणका लागि सामुदायिक वन, डिभिजन वन सचेत हुनुपर्ने जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीको भनाइ छ । उनले भने, “हामीसँग सहकार्य, छलफल नै गरिदैँन, सबै काम आफ्नो तरिकाले गर्दा काम गर्न वनका साथीहरुसँग समस्या भएको छ ।” हिमालमा जथाभावी जडीबुटीको दोहन भइरहेको र सरोकारवाला निकाय मौन रहेर सहकार्य हुन नसकेको उनको गुनासो छ । 
उनले भने, “बहुमुल्य खनिज पदार्थ, वन्यजन्तु चोरी निकासी भइरहेका छन, सबै मिलेर साझा कार्यसूचि बनाएर अगाडि बढौँ ।” गाउँगाउँमा सल्लीको रुखबाट जथाभावी खोटो सङ्कलन, सल्ली रुख कटान हुँदा दैनिक वन विनास भइरहेको छ । दुई दिन अघि मात्र सालको काठ अवैद्य तरिकाले लाँदैै गरेको अवस्थामा प्रहरी र वन डिभिजन कार्यालयले दुई जनालाई नियनत्रणमा लिएको छ । 
आधा दर्जन बढी वन्यजन्तुको चोरी, निकासी गर्ने व्यक्ति पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हालसम्म जिल्लामा दुई हजार ९४३ घरधुरीले एक हजार ४३० हेक्टर वन अतिक्रमण गरेको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

डिभिजन वनले बेलाबेला अतिक्रमण हटाउने प्रयास गरे पनि केही राजनीतिक दलको अवरोधपछि उक्त कार्य रोकिएको छ । पछिल्लो समय जिल्ला वनले अतिक्रमण रोक्न ठोस पहल नगर्दा अतिक्रमण गर्नेको सङ्ख्या बढेको गुनासो छ । कर्णाली प्रदेश नै अत्यन्तै प्रकृतिक सम्पदाको उच्च भण्डार रहेको क्षेत्र हो ।

प्रतिकृया दिनुहोस