• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

ओख्रेनीको जुनार : सिन्धुलीका व्यापारीले लान्छन्, सिन्धुलीकै जुनार भनेर बेच्छन् 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान युगराज पाख्रिनले जुनारको व्यावसायिक खेती गरेको ४० वर्ष भयो । 

पाख्रिनले ३५ वर्षदेखि लगातार जुनार बेचिरहनुभएको छ । रामेछापको जुनार तराइदेखि काठमाडौं लगायतका मुख्य बजारमा पुग्छ । रामेछापको जुनार गुणस्तरीय पनि छ । तर उपभोक्ताले अहिले पनि रामेछापको जुनारलाई रामेछापको नामले चिन्दैनन् र किन्दैनन् । अहिले पनि उपभोक्ताले रामेछापको जुनार सिन्धुलीकै जुनारको नाममा उपभोग गर्दछन् । 

रामेछाप र सिन्धुलीमा सँगसँगै जुनार खेती सुरु भयो । रामेछापको रामेछाप, ओख्रेनी, सुकाजोर, सालु, भलुवाजोर लगायतका क्षेत्र र सिन्धुलीको खनियाखर्क, चपौली, मझुवा लगायतका क्षेत्रमा जुनार खेती लगाइयो । सडक सञ्जालमा जोडिएको कारण सिन्धुलीको जुनार पहिलेदेखि नै सजिलै बजारमा पुग्यो । त्यसैले उपभोक्ताले सिन्धुलीको जुनार पहिलेदेखि नै उपभोग गरे र सिन्धुलीको जुनारको ब्राण्ड नै बन्यो । 

सडक यातायातले नछोएको रामेछापलाई सुरुमा बजारसम्म जुनार पुर्‍याउन समस्या पर्‍यो । सिन्धुलीको भन्दा पनि गुणस्तरीय जुनार उत्पादन गर्दा पनि रामेछापको जुनारले रामेछापको परिचय बनाउन सकेन । अहिले पनि बजारमा रामेछापको जुनार सिन्धुलीकै जुनारको नामले पुग्छ । 

जुनारको इतिहास नेपालमा ५० वर्ष भन्दा लामो छैन । २०३८ साल तिर जापानबाट आएका कृषि वैज्ञानिकले रामेछापको गाईटारमा जुनारको नर्सरी स्थापना गरी किसानलाई जुनारका बिरुवा वितरण गरेपछि जुनारको व्यावसायिक खेती सुरु भएको ओख्रेनीका किसान युगराज पाख्रिन बताउनुहुन्छ । ‘मैले पनि त्यही नर्सरीबाट बिरुवा लिएर जुनारको व्यावसायिक खेती सुरु गरेको हो’, पाख्रिनले भन्नुभयो । 

त्यस अघि रामेछापकै भलुवाजोरका किसान गेहेन्द्रबहादुर थापाले जुनार खेती लगाउनुभएको थियो । उहाँलाई रामेछापको जुनार खेती पिता पनि भनिन्छ । 

पछि २०४० सालमा राजा वीरेन्द्र रामेछाप भ्रमणमा आउँदा जुनारले स्वगत गरेपछि रामेछापलाई जुनार क्षेत्र घोषणा गरियो । त्यस पछि जुनार खेती गर्ने किसानलाई बिरुवा र मलमा अनुदान, खेतीको लागि सहुलियत ऋण समेत उपबन्ध भयो र किसानले व्यावसायिक जुनार खेती सुरु गरे । 

जुनारले तीन वर्ष पछि नै उत्पादन दिन लाग्यो, तर सडक नजोडिएको कारण बजार पाएन । त्यसैले कतिपय किसानले फलेका जुनारका बगैँचा नै मासे । दुःख गर्ने किसानहरूले डोकोमा बोकेर बजारसम्म पुर्‍याएर जुनार बेचे । ‘डोकोमा जुनार बेच्न लग्यो, दिनभरिको पारिश्रमिक पनि नउठ्ने अवस्था थियो’, पाख्रिनले भन्नुभयो । 

जब रामेछापमा सडक आयो, ओख्रेनी, भलुवाजोर, सुकारजोर, सालु लगायतका जुनार उत्पादन हुने क्षेत्रमा सडक पुग्यो, त्यस पछि पुनः किसानहरूले बगैँचा विस्तार गरे । 

बाटो नबन्दा जुनार बिक्री नभएर आत्तिएका किसानले सडक बनेपछि व्यापारीलाई दसैँ अघि नै काँचो जुनार बेचे । जसले गर्दा अमिलो जुनार बजारमा पुग्यो र रामेछापको जुनार अमिलो हुन्छ भन्ने सन्देश गयो । त्यसैले उपभोक्ताले रामेछापको जुनार अमिलो हुन्छ भनेर रुचाएनन् र बजार नै बिग्रियो । 

अहिले भने किसानहरू नपाकेको जुनार बिक्री गर्दैनन् । रामेछापको गुणस्तरीय  र पाकेको जुनार बजारमा पुग्छ । तर जुनारसँगै रामेछापको नाम भने बजारमा पुग्न सकेको छैन । 

बिपी मार्ग सञ्चालनमा आएपछि सिन्धुलीका व्यापारी किसानकै बगैँचामा आएर जुनार लैजान्छन् । किसानले अहिले भाउ पनि राम्रै पाएका छन् । तर रामेछापमा उत्पादित जुनार आफ्नो नामबाट भने गुमनाम भएको छ । 

केही वर्ष जुनारमा लाग्ने किराले पनि जुनारको बजार बिग्रियो । जुनारको दान भित्र किरा लागेर जुनारका सबै दाना पाक्ने बेलामा झरे । किसानलाई नराम्रो घाटा भयो । बजारमा लगिएका बाहिर राम्रो देखिने जुनारमा पनि भित्र किरा परेपछि उपभोक्ताले जुनार कम खरिद गरेको किसानहरू बताउनुहुन्छ  । 

किसानहरूले समयमा नै लगातार उपचार गरेपछि यस वर्ष भने जुनारमा किरा देखिएको छैन । अहिले किसानको बगैँचामा जुनार पहेँलपुर भएर पाकेको छ । 

कतिपय किसानले जुनार टिप्न थालेका छन् भने कतिपयले टिपेर भण्डारण गरेका छन् । धेरै किसानका बगैँचा नै व्यापारीले किनेर जुनार टिप्दै छन् । विगतको वर्ष भन्दा यस वर्ष जुनारबाट राम्रै आम्दानी भएको किसानहरू बताउँछन् । 

गुणस्तरीय प्रशोधन केन्द्र स्थापना गरी रामेछापको जुनारको जुस बजारमा पठाउन सके रामेछापको पहिचान पनि स्थापित हुने र किसानले पनि अझ बढी लाभ लिन सक्ने किसानहरूको माग रहेको छ । 

 

प्रतिकृया दिनुहोस