लक्ष्मीकली र माहुते घनश्यामको कथा
हात्ती हो घनश्याम कुमालको साथी । परिवार पनि हात्ती नै हो । उनको अन्नदाता पनि हात्ती नै हो । रोजगारदाता पनि हात्ती नै हो । हात्ती छ, त्यसैले घनश्याम छन् । त्यही हात्तीका कारण घनश्याम यसरी मिडियामा पनि आउँछन् ।
घनश्याम र हात्तीको जोडि बनेको २७ वर्ष भयो ।
उनी बिहान जुरुक्क उठ्छन्, सोझै हात्तीमा आँखा लगाउँछन् । हात्ती बस्ने ठाउँ सफा गर्छन् । खानेकुरा खुवाउँछन् ।
यो २७ वर्षमा घनश्यामले धेरैवटा हात्तीसँग संगत गरे । उनीहरुको हेरचाह गरे । अहिले चाहिँ उनी लक्ष्मीकलीको हेरचाह गर्छन् । लक्ष्मीकली भारतबाट ल्याइएकी हुन् । सौराहाकै एक स्थानीयले पालेका हुन् । घनश्यामको चाहिँ जागिर हो– माहुते । सौराहामा धेरै जनाले हात्ती पालेका छन् । तिनैमध्येकी एक हुन् लक्ष्मीकली । सौराहामा लक्ष्मीकलीले पर्यटक घुमाउँछे, मालिकलाई पनि पाल्छे, घनश्यामलाई पनि पाल्छे ।
(1).jpg)
उनी भन्छन्– ‘एउटा हात्ती किन्न एक करोड रुपैयाँभन्दा धेरै पर्छ । सौराहामा हात्ती पाल्नेले लगभग तीन वर्षमा लगानी उठाएका छन् । सात वर्षदेखि म लक्ष्मीकलीसँगै छु । मलाई देखेपछि खुसी हुन्छे, नदेख्दा उदास हुन्छे ।’
लक्ष्मीकलीलाई नदेख्दा तपाईंलाई चाहिँ कस्तो लाग्छ ? जवाफमा घनश्यामले भने– ‘मेरो जीवन हात्तीसँगै बितिसक्यो । हात्ती देखिन भने नरमाइलो लाग्छ । लक्ष्मीकलीलाई देखिन भने त मेरो दिन नै बिग्रन्छ ।’
विरलै मात्र लक्ष्मीकलीलाई छाडेर काम विशेषले बाहिर गएका छन् घनश्याम ।
लक्ष्मीकली अहिले ५० वर्ष जतिकी भइन् । यो ५० वर्षमा लक्ष्मीले धेरै माहुते देखिन्, धेरै मानिससँग संगत गरिन् । धेरै पर्यटक देखिन् । धेरैलाई पिठ्युँमा राखेर सौराहा घुमाइन् ।
लक्ष्मीकली बुढी भइन् तैपनि सक्रिय छिन् । ‘अझै तगडा छे’– घनश्याम भन्छन्– ‘यसलाई कतिबेला भोक लाग्छ, कतिबेला आराम चाहिन्छ, कतिबेला तिर्खा लाग्छ, कतिबेला नुहाउन मन लाग्छ भन्ने सबै मु बुझ्छु ।’
लक्ष्मीकलीलाई विसंचो भयो भने पनि घनश्यामले थाहा पाइहाल्छन् । डाक्टरले लक्ष्मीकलीको नियमित स्वास्थ्य परीक्षण गर्छन् । डाक्टरले लक्ष्मीकलीको रोग थाहा पाउँछन् तर घनश्यामले चाहिँ लक्ष्मीकलीको मनको रोग पनि थाहा पाउँछन् । लक्ष्मीकली उदास भइ भने पनि थाहा पाउँछन्, खुसी भइन् भने पनि थाहा पाउँछन् घनश्याम ।
.jpg)
कतै एकदुई दिन टाढा जानुपर्दा घनश्यामलाई हात्तीको मात्र सम्झना आउँछ रे ।
अनि लक्ष्मीकलीले चाहिँ घनश्यामलाई कसो गर्छिन् नि ? घनश्याम भन्छन्– ‘यसले पनि मलाई माया गर्छे, मेरो निक्कै ख्याल राख्छे । मैले जे भने पनि मान्छे ।’
२७ वर्ष अघि घनश्यामले हात्ती हेरचाह गर्ने जागिर खाएका थिए । धेरै ठाउँमा धेरै हात्ती स्याहारे । अब हात्ती हेरचाह गर्नु उनको जागिर मात्र रहेन, जीवन नै भइसक्यो । हात्ती बिनाको जीवन घनश्याम कल्पना नै गर्न सक्दैनन् ।
हात्तीको स्वभाव बारे घनश्याम भन्छन्– ‘जसरी हरेक मानिसको स्वभाव फरक हुन्छ, त्यसैगरी हरेक हात्तीको स्वभाव फरक हुुन्छ ।’
सानै देखि हात्ती स्याहारेका हुन् घनश्यामलले । हात्तीसँगकाे साथ र संगतकाे प्रसंगमा घनश्यामकाे जीवनमा ०६२ साल बिर्सिनसक्नु छ । त्यसबेला उनी सुन्दरकली नामकी हात्ती हेरचाह गर्थे । सुन्दरकली विरामी भइन् । घनश्यामले डाक्टर बोलाए, औषधी उपचार गराए । तर जति उपचार गरे पनि हात्ती निको भएन । अन्नत सुन्दरकलीले इहलीला त्याग गरिन् ।
(1).jpg)
‘त्यसबेला म धेरै रोएँ’– भावुक हुँदै घनश्यामले भने– ‘आफैंले स्याहार गरेको हात्ती ढल्दा मन समाल्न सकिँन ।’
सुन्दरकली मरेपछि घनश्याम घर गए । दिनरात सुन्दरकलीको मात्र सम्झना आउँथ्यो, सुन्दरकलीलाई हिँडाएको, खुवाएको, घुमाएको मात्र सम्झन्थे ।
एक हप्ता सम्म खाना पनि खान सकिन– घनश्याम भन्छन् ।
लक्ष्मीकलीकाे जन्म कहाँ भएकाे हाे थाहा छैन । घनश्यामका अनुसार पक्कै भारतमा जन्मिएकी हाे । ५० वर्षे जीवनकालमा लक्ष्मीकलीले धेरै ठाउँ देखिन् हाेला । अहिले चाहिँ साैराहामा छिन् । घनश्याम भन्छन्- 'साैराहा नै लक्ष्मीकलीकाे घर हाे । यसले अब बाँकी जीवन यहीँ बिताउँछे ।'


प्रतिकृया दिनुहोस