• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काेभिड संक्रमण कम भएसँगै आउन छाेड्याे खोप

समाचार

समाचार

काठमाडाैं । कोरोना भाइरसको संक्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । 

कोरोना भाइरसको संक्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना संक्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको संख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । 

अहिले संक्रमण दर एक प्रतिशतभन्दा पनि कम रहेको छ । मंसिर २९ गते सात सय ३० जनाको परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको थियो । त्यो संक्रमण दर भनेको ०.५५ प्रतिशत हो । खोप सात हजार नौ सय नौ जनाले लगाएका छन् । 

उहाँका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता सरकारले खोप ल्याएको छैन । 'अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन । माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौँ', उहाँले भन्नुभयो, 'तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछाैं ।'

सरकारले सम्झौता गरेर पनि खोप ल्याएको छैन । उहाँले खोपको माग कम भएपछि खोप नल्याइएको बताउनुभयो । कोभ्याक्समार्फत ल्याउनका लागि सम्झौता भएको ९२ लाख मात्रामध्ये ५५ लाख मात्रा खोप ल्याइएको छैन । 'नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले हामीले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौँ', उहाँले भन्नुभयो, 'आवश्यकता भयो भने त्यो सम्झौता गरिएको खोप भने ल्याउँछौँ ।'

सम्झौता गरिएको खोपमध्ये दुई पटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ । 

बुस्टर डोजका लागि ल्याइने 

सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएका लागि थप मात्रा लगाउन खोप ल्याउने तयारी भएको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा चौरसियाले जानकारी दिनुभयो । 

नेपालमा सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि पहिलो पटक भारतबाट ०७७ माघ ८ गते १० लाख मात्रा खोप ल्याइएको थियो । त्यसपछि पटकपटक गरी नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ ।

अहिले पाँच वर्षदेखि माथिका सबैलाई सरकारले निःशुल्क खोप प्रदान गर्दै आइरहेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोडर्ना, एस्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन, फाइजरलगायतका कोरोना भाइरस विरुद्धका खोप लगाइएको छ । नेपालले आफैँ खरिद गरेर, दातृ निकायबाट अनुदान र कोभ्याक्स सुविधामार्फत कोरोना भाइरस विरुद्धको खोप ल्याएको छ । 

अहिले ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात रहेको छ । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात रहेको छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात रहेको छ । यस्तै फाइजर ६० हजार सात सय ५६ मात्रा, फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात रहेको छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात रहेको जनाइएको छ ।

–रासस
 

प्रतिकृया दिनुहोस