• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

डाक्टरहरु विभाजित, अस्पतालमा हडताल, विरामी बेहाल 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल चिकित्सक संघले आव्हान गरेको हडतालका कारण देशभरीका अस्पताल प्रभावित भएको छ ।

डा. गोविन्द केसीको शतप्रतिशत माग मानेर चिकित्सा शिक्षा विधेयक पारित हुनुपथर््यो भन्दै संघले हडताल आव्हान गरेको हो । संघले आव्हान गरेको हडतालमा संघमा आवद्ध ठूलो संख्याका चिकित्सकहरु नै असहमत देखिएका छन् । तैपनि देशभरी हडतालको प्रभाव परेको हो । 

संघले सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्यसेवा बन्दको आव्हान गरेको हो । 

संघले आजको हडताललाई सांकेतिक भनेको छ । 

संघले थालेको आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार हुने भन्दै संघका महासचिव डा. लोचन कार्कीले विज्ञप्ति जारी गरेका छन् । 

चिकित्सक संघले डा. केसीको समर्थनमा रिले अनसन पछि हडताल आव्हान गरेको हो ।

देशका विभिन्न भागमा रहेका ठूला अस्पतालहरुमा चिकित्सक हडतालका कारण भीड लागेको छ । उपचारका लागि अस्पताल पुगेका विरामीहरु हडतालका कारण आफ्नो उपचार नहुँदा आक्रोशित बनेका छन् । 

हडतालको अवज्ञा गर्दै विभिन्न अस्पतालमा कतिपय चिकित्सकहरुले विरामी जाँच गरेका छन् । 

चिकित्सकहरु विभाजित

चिकित्सक संघले आव्हान गरेको हडतालमा चिकित्सकहरु नै विभाजित छन् । यस अघि पनि संघले हडताल आव्हान गरिसकेको छ र संघले आव्हान गरेको हडतालको विरोधमा चिकित्सकहरु नै उत्रिने गरेका छन् ।

यसपटक पनि त्यस्तै भएको छ । राष्ट्रिय चिकित्सक संघ र प्रगतिशील चिकित्सक संघले हडतालको विरोध गरेको छ । दुई संस्थाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘एकजना अभियन्ताको ‘जीवन रक्षार्थ’ भनेर नेपाल चिकित्सक संघ (एनएमए)ले आह्वान गरेको एजेण्डा–विहिन आन्दोलन राजनीतिक उद्धेश्यले प्रेरित छ । विरोधका अन्य विभिन्न उपाय रहँदारहँदै पनि स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्रमा हलुका ढंगले बन्द हड्ताल गर्ने अप्रिय निर्णयले आम जनसमुदाय र चिकित्सकका बीच दूरी बढ्ने निश्चित छ, साथै अनसनरत डा. केसीको भावना र उहाँको अभियानको मर्म विपरीत छ।’
 

प्रतिकृया दिनुहोस