• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नवलपुरमा थपिए एक हजार नयाँ उद्योग

समाचार

समाचार

नवलपुर । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा एक हजार नयाँ उद्योग थपिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ५० वटा नयाँ उद्योग थपिएका छन् । 

गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये आठ वटा लघु उद्योग, चार वटा घरेलु उद्योग र एक हजार ३८ वटा साना उद्योग रहेको कार्यालय प्रमुख खनालले बताउनुभयो । 

जिल्लामा थपिएका उद्योगमध्ये धेरैजसो कृषि तथा वन पैदावारमा आधारित रहेको उहाँले बताउनुभयो । योबाहेक सेवामूलक र पर्यटनसम्बन्धी उद्योग नवलपुरमा थपिनेक्रम धेरै रहेको कार्यालय प्रमुख खनालले बताउनुभयो । 'नवलपुरमा उद्योग थपिनेक्रम तीव्र छ, कोभिडको अवस्थामा केही कम उद्योग दर्ता भएको भए पनि अहिले फेरि नयाँ उद्योग थपिनेक्रम धेरै रहेको छ', कार्यालय प्रमुख खनालले भन्नुभयो, 'थपिएकामध्ये कृषि, वन पैदावार, सेवामूलक र पर्यटनसँग सम्बन्धित धेरै रहेका छन् ।'

गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये कृषि तथा वन पैदावारमा आधारित उद्योगमात्रै ६३८ छन् । यसबाहेक सेवामूलक उद्योगमा २६५, उत्पादन मूलक उद्योग ८२, पर्यटन उद्योग ६४ र ऊर्जामूलक उद्योग एक थपिएका छन् । 

कार्यालय प्रमुख खनालले भन्नुभयो, 'कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र, नारायणी तटीय क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटनको सम्भावना भएकाले पनि यस प्रकृतिका उद्योग धेरै खुल्ने गरेका छन् । यति मात्रै होइन राज्यले कृषि तथा पशुपालनमा दिने अनुदानले युवाको आकर्षणसमेत यस्तो भएको हुन सक्छ ।'

पूर्वपश्चिम राजमार्गको मध्यमार्ग, भारतीय सीमाबाट नजिक भएकाले पछिल्लो समय उत्पादनमूलक उद्योगसमेत नवलपुरमा आकर्षित हुन थालेका छन् । देशकै मध्यभागमा रहेको जिल्ला भएकाले यहाँबाट उत्पादन गरिएका सामग्री सहजै अन्य ठाउँमा लैजान सकिने हुँदासमेत नवलपुरमा उत्पादनमूलक उद्योगको आकर्षण बढ्दो रहेको छ । 

गत आर्थिक वर्षमा एक हजार ५० उद्योग थपिएसँगै नवलपुरमा स्थापना भएका उद्योगको संख्या ६ हजार तीन सय नौ पुगेको छ । जसमध्ये कूल १७ वटा लघुउद्योग, २४ वटा घरेलु उद्योग र ६ हजार २ सय ६८ वटा साना उद्योग रहेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा रहेका उद्योगमध्ये छ हजार ८६ प्राइभेट फर्म, १ सय १३ साझेदारी फर्म र १ सय १० वटा उद्योग प्राली कम्पनीअन्तर्गत स्थापना भएका छन् । 

वाणिज्यतर्फ नवलपुरमा गत आर्थिक वर्षमा जम्मा एक हजार १५८ वटा व्यवसाय थप भएका छन् । गत आर्थिक वर्षमा थपिएको सङ्ख्यासहित वाणिज्यतर्फ कूल आठ हजार ३ सय १६ व्यवसाय रहेको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले बताउनुभयो । 

मध्यवर्ती क्षेत्रमा उद्योग स्थापना गर्ने प्रक्रिया सहज हुने हो भने अझै उद्योगको सङ्ख्या बढ्ने यहाँका उद्योगीको भनाइ छ । राजमार्गदेखि दक्षिण क्षेत्र सबैजसो मध्यवर्ती क्षेत्र पर्ने र सो क्षेत्रमा उद्योग स्थापना गर्दा धेरै झन्झट बेहोर्नुपर्ने भएकाले नयाँ उद्योग स्थापना गर्न चाहने निरुत्साही हुने गरेको कावासोतीका पर्यटन व्यवसायी नरबहादुर महतोले बताउनुभयो । 

राज्यले यस विषयमा ध्यान दिएर सहजरुपमा उद्योग स्थापनाको वातावरण बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । 'एउटा सानो व्यवसाय सुरु गर्न प¥यो भने निकुञ्ज धाउनुपर्ने हुन्छ, मध्यवर्तीले गर्दा नयाँ काम थाल्न पनि झन्झट छ', महतोले भन्नुभयो, 'राज्यले यसलाई सहज बनाउनुपर्ने देखिन्छ ।'

-रासस

प्रतिकृया दिनुहोस