म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए
म्याग्दी । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५ सय ७० उद्योग र व्यावसायिक फर्म थप भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३ सय ३८ उद्योग र २ सय ३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । ०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा फर्मबाट १६ लाख ८१ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।
'पहिलेदेखिनै सञ्चालन भएका उद्योग तथा फर्म कानुनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता सङ्ख्या बढेको हो', उहाँले भन्नुभयो, 'नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।'
दर्ता र नवीकरणका क्रममा उद्योगबाट नौ लाख तीन सय पाँच रुपैयाँ, वाणिज्यतर्फ सात लाख ६९ हजार २ सय ४५ रुपैयाँ र अन्य शीर्षकमा १२ हजार दुई सय रुपैयाँ राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ७ सय ६२ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए ।
यसैगरी २६ लाख आठ हजार १ सय २३ रुपैयाँ राजस्व संकलन भएको थियो । नयाँ दर्ता भएका ३ सय ३८ मध्ये २ सय नौ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २ सय ३३ उद्योग र ३ सय ९ वाणिज्य फर्म नवीकरण भएका छन् । जिल्लामा हाल उद्योग दुई हजार ६ सय ६१ र व्यावसायिक फर्म एक हजार ५ सय २८ वटा रहेका छन् । उद्योगमा एक हजार ५ सय २८ ले रोजगारी पाएका छन् ।
गत आर्थिक वर्षमा कूल रु एक करोड १३ लाख बजेटमध्ये ९३ लाख ६० हजार १ सय १५ रुपैयाँ बजेट खर्च भएको छ । १ सय ७२ जनालाई उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरेको छ । बेनपा–९ तोरीपानीमा २२, धौलागिरि–७ ताकममा २७, मालिका–५ देवीस्थानमा ३४, रघुगङ्गा–६ पाखापानीमा २७, अन्नपूर्ण–४ नारच्याङमा २७ र मङ्गला–२ बाबियाचौरमा ३५ जनालाई तालिम प्रदान गरिएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले बताउनुभयो ।
१३ जनालाई मेसिन उपकरण खरिद गर्न १५ लाख ९५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
सात वटा पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि रु बीस लाख विनियोजन भएकोमा छवटा योजना सम्पन्न र १६ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ ।
तीन ठाउँमा व्यवसाय दर्ता शिविर सञ्चालन र २० पटकमा २२२ फर्मको अनुगमन गरेको कार्यालयले जनाएको छ ।
–रासस


प्रतिकृया दिनुहोस