• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रधानमन्त्री ओली र भारतीय राजदूत पुरीबीच भेटवार्ता

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले बिहिबार बिहान भेटवार्ता गरेका छन् । सो भेट प्रधानमन्त्री निवास वालुवाटारमा भएको उच्च स्रोतले जनाएको छ । 

स्रोत अनुसार ओली र पुरीको भेट प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने तय भएको थियो तर मौसम बिग्रिएपछि ओली सिंहदरबार गएनन् । त्यसैले उनीहरुको भेट वालुवाटारमै भएको बुझिएको छ । 

ओलीले मंगलबारबाट कूटनीतिक भेटघाटलाई तिब्र बनाएका छन् । उनले मंगलबार वेलायत सहित यूरोपका केही देशका राजदूतलाई भेटेका थिए । अपरान्ह अमेरिकी राजदूतलाई भेटेका थिए । आज बिहान चाहिँ भारतीय राजदूतलाई भेटेका हुन् । 

भेनेजुयला प्रकरणबाट नेपालको कूटनीतिक परिचालन असहज हुन थालेको आशंका गरिएको बेला ओलीले कूटनीतिक भेटघाट तिब्र बनाएका हुन् । तर, यो भेटघाटको भेनेजुयला प्रकरणसँग कुनै सम्वन्ध नभएको दावी प्रधानमन्त्री ओली निकटहरुले गरेका छन् । 

ओली निकट कूटनीतिक क्षेत्रका एक जानकारले सनराइज खबर संवाददातासँग अनौपचारिक टिप्पणी गर्दै भने– ‘भेनेजुयलाको च्याप्टर क्लोज भइसक्यो, भेनेजुयला प्रकरणसँग यो भेटघाटको कुनै सम्वन्ध छैन ।’

उनका अनुसार अघिल्लो साता आयोजना गरिएको कूटनीतिक व्रिफिङपछि राजदूतहरुसँग भेट गर्न थालिएको हो । सरकारले आउँदो चैतमा लगानी सम्मेलन गर्दैछ । सो सम्मेलनलाई ध्यानमा राखेर कूटनीतिक भेटघाट गरिएको हो । प्रधानमन्त्री ओलीका निकट मानिने उनले भने– ‘यो सरकार बनेको एक वर्ष पुग्नै लाग्यो, यो कारणले पनि कूटनीतिक भेटघाट गरिएको हो ।’

भारतीय राजदूतसँगको भेटमा चाहिँ के विषयमा कुरा भयो ? उनले बताए– ‘केही विकास परियोजनाहरु बारेमा कुरा भयो, केही नयाँ विकास परियोजनाहरु सम्वन्धमा पनि छलफल भएको छ ।’ भारतीय राजदूतसँग लगानी सम्मेलनका बारे पनि कुरा भएको बताइएको छ ।

स्रोत अनुसार ओलीले केही दिनभित्रै अन्य देशका राजदूतहरुका साथै विभिन्न दातृ निकायका प्रतिनिधिहरुसँग पनि भेट गर्ने भएका छन् । 


 

प्रतिकृया दिनुहोस