सीमामा काेभिडकाे जाेखिम बढ्दाे
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् ।
गएको २४ घन्टामा कोरोना भाइरसको आशंकामा पिसिआर र एन्टिजेन पद्दतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांक अनुसार मंगलबार पिसिआर पद्दतिबाट १८ र एन्टिजेन पद्दतिबाट सीमा नाकामा २ सय ९३ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्लो एक हप्तामा ११ जनामा कोरोनाको संक्रमण देखिएको छ । गएको फागुनयता यो रोगका कारण हुने मृत्यू दर भने शून्य छ ।
छिमेकी भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीले बताउनुभयो । सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको जोखिम देखिएको हो । भातरबाट फर्किनेमा यो रोगको संक्रमण देखिन थालेको बताइएको छ ।
गौरिफन्टा सीमा नाकामा खटिनुभएका डम्मर खातीले आफ्नो स्वास्थ्यको नमूना परीक्षण गराउने काममा भित्रिने नागरिकबाट लापरबाही हुँदा समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘भित्रिनेहरु हेल्थ डेस्कमार्फत् आफ्नो नमूनाको नतिजा नआउँदै गन्तव्यमा हिँड्दा समस्या भइरहेको छ, उहाँहरुलाई नतिजा आउने समयसम्म निगरानीमा राखिदिने काम कसैबाट हुन सकिरहेको छैन ।’ मंगलबार सुदूरपश्चिमका विभिन्न सीमानाकाबाट ५ सय १६ जना स्वदेश भित्रिएका थिए ।
कोरोनाको समस्या देखिएयता हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट दुई लाख २१ हजार ६ सय ३५ र एन्टिजेन पद्दतिबाट तीन लाख २५ हजार १ सय ५७ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये पिसिआर तर्फ ४२ हजार १ सय ७८ र एन्टिजेन तर्फ १७ हजार ४ सय ९२ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित हुनेमध्ये ५९ हजार २० जना उपचार व्यवस्थापनपछि घर गएका छन् । अहिलेसम्म कोरोनाबाट संक्रमित ६ सय ३३ व्यक्तिको ज्यान गएको छ ।
कोरोना भाइरसविरुद्धको खोप लागाउने दर बढ्दै गएको छ । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३ सय ८८ मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ । बालबालिकालाई खोप दिने तयारी भइरहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझैँ अभाव रहेको जनाइएको छ ।
-रासस


प्रतिकृया दिनुहोस