• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

समाचार

समाचार

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६ सय २१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४ सय ५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । 

 चालु आवमा एक हजार ६ सय २९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १‌ सय११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्यभोटेकोसीबाट १ सय २ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट एक हजार ५५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको भए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको उक्त सर्वेक्षणमा उल्लेख छ । 

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विवरणअनुसार राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ४२.६८, माथिल्लो त्रिशुली थ्री बीको भौतिक प्रगति ६१.५, रसुवागढी आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत, माथिल्लो साञ्जेनको ९३ प्रतिशत, तल्लो साञ्जेनको भौतिक प्रगति ८६ प्रतिशत र मध्यभोटेकोसीको भौतिक प्रगति ८० प्रतिशत बराबर छ । 

 सो अवधिमा ५०० घरधुरीमा निःशुल्क बिजुली मिटर जडान र थप पाँच–पाँच जिल्लामा विद्युतीकरण सम्पन्न भएको छ । चालु आवमा उखुको बगासबाट तीन मेगावाट बिजुली र सौर्य ऊर्जाबाट १४ मेगावाट गरी थप १७ मेगावाट बिजुली उत्पादन भएको छ ।

त्यस्तै, ७२ हजार थान थ्री फेज स्मार्ट मिटर खरिद गरिएको, हालसम्म ४३ हजार ९ सय ३० थान प्रतिस्थापन गरी एएमआई प्रणालीमा जोडिएको छ । त्यस्तै, २४ हजार ९ सय ३९ थान नयाँ ग्राहकमा जडान भएको छ । 

 चालु आवको चैत मसान्तसम्म १७ लाख ५३ हजार ६ सय ४२ व्यवसायी स्थायी लेखानम्बर जारी भएको, २९ लाख चार हजार ७७१ व्यक्तिगत लेखा नम्बर, दुई लाख ९० हजार ८ सय २६ मूल्यअभिवृद्धि कर र एक लाख १४ हजार ८ सय ८३ अन्तःशुल्कमा दर्ता भएका छन् ।

–रासस

प्रतिकृया दिनुहोस