फितलो देखिए महरा, सदनको मर्यादा जोगाउन सकेनन्
काठमाडौं । ‘कृष्णबहादुर महरा फितलो छन्, कमजोर छन्’ प्रतिनिधिसभाका सांसदहरुको टिप्पणी यस्तै हुने गरेको छ । प्रतिपक्षका सांसदहरु मात्र नभएर सत्तापक्षककै कतिपय सांसदहरु पनि सभामुखको भूमिकाप्रति सन्तुष्ट देखिँदैनन् ।
नेकपा पृष्ठभूमिका भएकाले कांग्रेस सांसदहरुले महराकाे विराेध गर्नुमा राजनीतिक कारण पनि देख्न सकिएला तर कुरा त्यतिमा सीमित छैन ।
‘सभामुखले रुल गर्ने हो, रुलिङ गर्ने हो’ एक अनुभवी सांसद भन्छन् । उनका अनुसार सदनमा सभामुखको आलोचनालाई अत्यन्तै आपत्तिजनक मानिन्छ । विगतका सभामुखहरु दमननाथ ढुंगाना, रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसैले पनि सदनमा सभामुखको आलोचना गरिएको विषयलाई स्वीकार गरेनन् ।
नेम्वाङले संविधानसभा कालमा संसद् वैठकमै राप्रपा नेपालका नेता कमल थापालाई क्षमा याचना गर्न लगाएका थिए । थापाले सभामुखको आलोचना गर्दै बोलेका थिए । तर, अहिले सदनमा सभामुखको आलोचना जति पनि गर्न पाइन्छ । गत साता प्रतिनिभिसभा वैठकमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले ठाडै भनिदिए— सभामुखको भूमिका ठिक भएन, निष्पक्ष भएन, पार्टीको नेताको जस्तो भयो ।
प्रतिनिधि सभा बाहिर सभामुखको आलोचना गर्न पाइन्छ तर वैठकमा आलोचना गर्न पाइँदैन । प्रतिनिधिसभा नियमावलीमै यस्तो व्यवस्था छ । संसदीय मामिलाका जानकारहरुका अनुसार संसदीय प्रणाली भएका कुनै पनि मुलुकको वैठकमा सभामुखको आलोचना गर्न पाइँदैन । संसदमा सभामुखको आलोचना गरिँदा तत्कालीन सभामुख नेम्वाङ तत्काल एक्सन लिन्थे । सांसदले आलोचना गरेको विषय रेकर्डबाट हटाउन आदेश दिन्थे ।
तर, चिकित्सा शिक्षा विधेयकमा कांग्रेसले संसद अवरुद्ध गरेको बेला सभामुखको धज्जी उडाइएको थियो । कांग्रेस सांसदहरुले सभामुखमाथि कडा प्रहार गरेका थिए ।
संसदमा कतिपय सांसदले विभिन्न विषयमा अशोभनीय टिप्पणी गर्दा पनि सभामुख महरा चुप लागेर बस्ने गरेका छन् । सभाको मर्यादा बनाइराख्ने, सभालाई विवेकपूर्ण, शिष्ट र शालिन बनाउने जिम्मेवारी सभामुखको हो तर महराले सभाको मर्यादा राख्न सकिरहेका छैनन् भन्ने उदाहरण बुधबारको वैठकमा पनि देखियो ।
बुधबारको वैठकमा कांग्रेसकी सांसद डिला संग्रौलाले ‘निर्मला पन्तका हत्यारा सिंहदरबारमा छन् कि बालुवाटारमा छन्’ भन्ने टिप्पणी गर्दै गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरेकी थिइन् । यस्तो वाक्य सर्वसाधारणले बोल्न मिल्ला तर संसदजस्तो सम्मानित तथा विवेकपूर्ण अभिव्यक्तिको केन्द्रमा बोल्न पटक्कै शोभनीय हुँदैन ।
‘सभामुखले संग्रौलाजीको वाक्य संसदको रेकर्डबाट हटाउने आदेश तत्काल दिनुपर्ने थियो तर उहाँले सभामुखको भूमिका नै बुझ्न सक्नुभएन,’ सनराइज खबर संवाददातासँगको कुराकानीमा ती सांसदले भने— ‘म तीन पटक सांसद भइसकें, कहिल्यै सभामुखको आलोचना गर्दिन, सदनमा पनि गर्दिन, यसरी बाहिरको कुराकानीमा पनि औपचारिक आलोचना गर्दिन । तर, महराजीले सदनको मर्यादा राख्न नसकेकै हो ।’


प्रतिकृया दिनुहोस