कोभिडमुक्त बन्याे काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक । जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोभिड संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोभिड परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोभिडसँग मिल्दोजुल्दो क्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि कोभिड संक्रमणको दोस्रो लहरपश्चात अर्थात् मङ्सिरमा पहिलोपटक जिल्ला कोभिड संक्रमणमुक्त भएको थियो ।
सदरमुकाम धुलिखेलस्थित प्रदेश प्रयोगशालामा कोभिड लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहने सेढाईँले बताउनुभयो । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । चार दिनअघि बनेपा नगरपालिकामा रहेका एक कोभिड संक्रमित पुरुष निको भएपछि जिल्ला कोभिड संक्रमणमुक्त भएको हो । केन्द्रका अनुसार जिल्लामा हालसम्म दुई वर्षको अवधिमा १७ हजार पाँच सय ५६ मा संक्रमण देखिएकामा एक सय ९५ जनाको ज्यान गएको थियो । कोभिड संक्रमणको तेस्रो लहरमा जिल्लाका एक पुरुषको ज्यान गएको हो ।
यसैबीच जिल्लाको मण्डनदेउपुर र पनौती नगरपालिकाले कोभिड संक्रमणबाट ज्यान गुमाएकाकाे परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै मण्डनदेउपुर नगरले कोभिडबाट ग्रसित भई भेन्टिलेटरमा उपचार गराएकालाई समेत सहयोग गरेको छ । मण्डनदेउपुर नगरले कोभिडबाट ज्यान गएकाको प्रतिपरिवारलाई ५० हजार रुपैयाँ र भेन्टिलेटरमा उपचार गरेकालाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोभिड संक्रमणबाट उक्त नगरका १८ जनाको ज्यान गएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए ।
यस्तै पनौती नगरले पनि कोभिड संक्रमणबाट ज्यान गएकाको प्रतिपरिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ ।
नगरमा कोभिड–१९ को संक्रमणबाट १९ जनाको ज्यान गएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
– रासस


प्रतिकृया दिनुहोस