कोभिड मुक्त काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोभिड संक्रमण मुक्त भएका छन् ।
दुई नगरपालिका र पाँच गाउँपालिका कोभिड संक्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमीत देखिएको छैन । कोभिड संक्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् । पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक-एक सक्रिय संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।
केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको र बिहीबार १३ जना संक्रमण मुक्त भएका हुन् । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हाल १६ सक्रिय संक्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार संक्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म संक्रमणदरभन्दा संक्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो ।
जिल्लामा हालसम्म १७ हजार पाँच सय ५० मा संक्रमण देखिएकामा एक सय ९५ को ज्यान गएको छ । कोभिड संक्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको ज्यान गएको थियो ।
हालसम्म कूल ससंक्रमितमध्ये ९८ दशमलब ७९ प्रतिशत अर्थात् १७ हजार तीन सय ३९ संक्रमण मुक्त भइसकेका छन् ।
– रासस


प्रतिकृया दिनुहोस